२०८३ साउन ९ शनिबार

मोतीपुर औद्योगिक क्षेत्र स्थापना गर्न आठ अर्ब लाग्ने

ई आर्थिक    शुक्रबार, कार्तिक ९ २०७५
8.3K
Shares
मोतीपुर औद्योगिक क्षेत्र स्थापना गर्न आठ अर्ब लाग्ने

असार मसान्तसम्ममा प्रस्ताव आह्वान गर्ने तयारी

विष्णु घिमिरे, बुटवल । प्रदेश ५ स्तरीय मोतीपुर औद्योगिक क्षेत्र निर्माणका लागि आठ अर्ब रुपैयाँ खर्च हुने भएको छ । रुपन्देहीमा आठ सय १३ बिघा क्षेत्रफलमा बन्न लागेको औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी वातावरणीय प्रभाव मूल्यांकन (इआइए)का लागि प्रक्रिया अगाडि बढेको छ ।

मोतीपुर औद्योगिक क्षेत्रमा आर्थिक वर्ष ०७५/७६ मा वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न गर्ने र उद्योग स्थापनाका लागि असार मसान्तसम्म निर्माणका लागि प्रस्ताव आह्वान गर्ने तयारी भइरहेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले इआइए सम्बन्धमा वन तथा वातावरण मन्त्रालयमा काम भइरहेको बताए । कस्ता उद्योगलाई प्राथमिकता दिने भन्ने टुंगो पनि लगाइने बस्नेतले बताए ।

उद्योग स्थापनाका लागि चार सय ५० प्रस्ताव
औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि अहिलेसम्म चार सय ५० प्रस्ताव आएका छन् । एक वर्षभित्रमा उद्योगीलाई जग्गा उपलब्ध गराउने गरी काम भइरहेको महाप्रबन्धक नन्दकिशोर बस्नेतले बताए । अहिले सो क्षेत्रमा पानी, बिजुलीलगायत सुविधा पु-याउन काम भइरहेको उनले बताए । उद्योगीलाई ४० वर्षसम्मका लागि सम्झौता गरेर जग्गा दिने तयारी छ ।

तीन क्षेत्रमा जग्गा व्यवस्थापन
मोतीपुर औद्योगिक क्षेत्रको जग्गालाई तीन क्षेत्रमा विभाजन गरी काम अगाडि बढाइएको छ । तिलोत्तमा क्षेत्रलाई ‘सेक्टर ए’मा राखिएको छ । सो क्षेत्रमा एक सय ३० प्लट रहेको छ । त्यस्तै मोतीपुर क्षेत्रलाई ‘सेक्टर बी’ कायम गरिएको छ । सो क्षेत्रमा चार सय पाँच बिघा जग्गा छ । जसमा औद्योगिक प्लटमा एक सय १७ दशमलव २३ बिघामा दुई सय ६२ प्लट रहेका छन् । बस्ती व्यवस्थापनलाई एक सय ४३ दशमलव २६ बिघा क्षेत्रफल छुट्याइएको छ ।

सडक, खेल मैदान, ढल, प्रशासनिक भवनलगायतलाई ६१ दशमलव ६६ बिघा छुट्यइएको छ । ग्रिनरी र बफरजोनका लागि ३४ दशमलव २३ बिघा जग्गा छुट्याइएको छ । तिनाउ खोलाको बहाव क्षेत्रका लागि न्यूनतम ५० मिटर कायम गरिएको अध्यक्ष तथा महाप्रबन्धक बस्नेतले बताए । औद्योगिक क्षेत्रको ‘सेक्टर सी’मा एक सय ५२ प्लट रहेका छन् । प्लटको आकार पाँचदेखि २१ रोपनीसम्म रहेका छन् ।

५ वर्षभित्र सञ्चालन गर्ने लक्ष्य
मोतीपुर औद्योगिक क्षेत्रको निर्माण काम सकेर पाँच वर्षभित्रमा पूर्ण सञ्चालन गर्ने लक्ष्य छ । तिनाउ खोला तटबन्ध निर्माणका लागि जलउत्पन्न प्रकोप नियन्त्रणलगायत अन्य सरकारी निकायसँग समन्वय भइरहेको छ ।

परियोजना कार्यालय उद्घाटन
औद्योगिक क्षेत्र परियोजना कार्यालयको उद्घाटन गरिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले कार्यालयको उद्घाटन गरेका हुन् ।

औद्योगिक क्षेत्रभित्र चार लेनको सडक
मोतीपुर औद्योगिक क्षेत्रभित्र चार लेनको मुख्य सडक र दुई लेनको सहायक सडक बन्नेछन् । साइकल लेन र सडकको दुवै छेउमा २ दशमलव ५ मिटरको पैदलयात्रु लेन हुनेछ । वर्षा र ढलको पानी निकासका लागि छुट्टै ड्रेनको व्यवस्था हुनेछ । २४ घन्टा पानीको आपूर्ति, ओभरहेड अन्डरग्राउन्ड ट्यांकी बनाइनेछ । त्यस्तै फोहोर पानी प्रशोधन केन्द्रको समेत व्यवस्था हुनेछ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार सुरक्षाका लागि दुई सय सशस्त्र खटिनेछन् । ४० मेगावाटको छुट्टै विद्युत् फिडर रहनेछ । एकीकृत भन्सार चेक पोस्टको पनि व्यवस्था हुनेछ । उद्योग स्थापना गर्ने क्रममा प्रत्येक प्लटमा २५ प्रतिशत क्षेत्रलाई हरियाली बनाउनुपर्ने मापदण्ड बनाइने महानिर्देशक नन्दकिशोर बस्नेतले बताए ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij