२०८३ साउन ९ शनिबार

नेपाल–चीन पारवहन सम्झौताको प्रोटोकलमा सहमति, पारवहनमा भारतसँगको परनिर्भरता तोडियो, अब चीन हुँदै तेस्रो मुलुकमा व्यापार गर्न सकिने

ई आर्थिक    शनिबार, भाद्र २३ २०७५
2.8K
Shares
नेपाल–चीन पारवहन सम्झौताको प्रोटोकलमा सहमति, पारवहनमा भारतसँगको परनिर्भरता तोडियो, अब चीन हुँदै तेस्रो मुलुकमा व्यापार गर्न सकिने
कृष्ण रिजाल, काठमाडौं । चीनसँग पारवहन सम्झौताको प्रोटोकलमा सहमति भएसँगै नेपालको पारवहनमा भारतको एकाधिकार औपचारिक रूपमै तोडिएको छ । नेपाल र चीनबीच सन् २०१६ मा भएको पारवहन सम्झौताको प्रोटोकलमा शुक्रबार सहमति भएको हो । यससँगै नेपालले चीन हुँदै तेस्रो मुलुकसँग आयात–निर्यात गर्न सक्नेछ ।

प्रोटोकल सहमतिअनुसार नेपालले चीनका सबै खुला बन्दरगाह प्रयोग गर्न, जुनसुकै मार्गबाट ढुवानी गर्न, सबैखाले यातायात माध्यमको प्रयोग गर्न, ६ नाकाबाट पारवहन ढुवानी गर्न र सिगात्सेसम्म आफ्नै ढुवानी साधन लैजान सक्नेछ । निकै लामो प्रयासपछि तय भएको प्रोटोकलले नेपाललाई विश्वसामु जोड्न वैकल्पिक बाटो दिलाएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बताए । यसले नेपालको आर्थिक समृद्धिको अभियानमा महत्वपूर्ण योगदान दिने उनको भनाइ छ ।

दुई दिनसम्म चलेको दुईपक्षीय बैठकले प्रोटोकलको मस्यौदालाई अन्तिम रूप दिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले बताए । बैठकको नेतृत्व नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजू र चीनका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात सेवा विभागका महानिर्देशक वाङ सुइपिङले गरेका थिए ।

‘निरन्तरको प्रयास र लामो प्रतीक्षापछि नेपालले ठूलो उपलब्धि हासिल गरेको छ,’ उनले भने, ‘प्रोटोकलको अन्तिम मस्यौदामा सहमति भएको छ जसले नेपालको पारवहनलाई विविधीकरण गरेको छ ।’ निकट भविष्यमै कुनै औपचारिक कार्यक्रम गरेर उक्त मस्यौदामा हस्ताक्षर गरी पारवहन प्रोटोकल कार्यान्वयनमा ल्याइने उनले बताए । प्रोटोकलमा सहमति जुटेसँगै पारवहन सम्झौता कार्यन्वयनमा आएको छ । अब नेपालले चीन हुँदै जापान, कोरिया, मंगोलिया, काजकिस्तानलगायत मध्य एसिया र युरोप तथा अमेरिकासम्म व्यापार गर्न सक्नेछ ।

दुई स्थायी संयन्त्र
पारवहन सम्झौता तथा प्रोटोकल कार्यान्वयनका समस्या समाधानका लागि सचिव र सहसचिवस्तरका दुईवटा स्थायी संयन्त्रसमेत बनाइने भएको छ । नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र चीनको यातायात मन्त्रालयका उपमन्त्रीस्तरमा संयुक्त परामर्श संयन्त्र बनाउने सहमति भएको छ । त्यस्तै, प्रविधि विषयमा वार्ता गर्न नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव र चीनको यातायात मन्त्रालयका महानिर्देशकस्तरको संयुक्त परामर्श उपसमितिसमेत गठन गरिने घिमिरेले जानकारी दिए ।

छिमेकी चीनले उदारता देखायो
मातृकाप्रसाद यादव 
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री
हामीलाई दुनियासँगको पहुँच चाहिएको छ । त्यसका लागि हालसम्म एउटा मात्रै बाटो थियो, अब अर्को थपिएको छ । चीनसँगको पारवहन प्रोटोकलमा सहमति भएको छ, यसले हामीलाई दुनियाँसँग जोड्नेछ । हाम्रो आर्थिक समृद्धिको अभियानमा दूरगामी प्रभाव पार्नेछ । २०१६ मा पारवहन सम्झौता भएको हो । त्यसपछि यसको कार्यान्वयन हुँदैन कि भन्ने आशंका गरिएको थियो, प्रश्नहरू गरिएका थिए, तर लामो प्रयास र छलफलपछि प्रोटोकलमा सहमति भएको छ । छिमेकी चीनले उदारता देखाएको छ ।

नेपाललाई चीनका सात बन्दरगाह खुला
प्रोटोकलमा नेपालले चीनका सबै सामुद्रिक तथा सुक्खा बन्दरगाह प्रयोग गर्न सक्ने उल्लेख छ । हाललाई भने तियान्जेन, सेनजे, लियानयुंगाङ र झाङ्गजियाङ सामुद्रिक बन्दरगाह प्रायोग गर्ने सहमति छ । त्यस्तै, लान्जाओ, ल्हासा र सिगात्से सुक्खा बन्दरगाह प्रयोग गर्न सकिने सहमति भएको आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले बताए । ‘हाम्रो आवश्यकता र सहजताअनुसार चीनले आफ्ना सुबै खुला बन्दरगाह प्रयोग गर्न दिनेछ,’ उनले भने, ‘अहिले तोकिएका ७ बन्दरगाह नेपाललाई तेस्रो मुलुकसँग व्यापार गर्न सहज हुने गरी छानिएका हुन् ।’

सिगात्सेसम्म नेपाली ढुवानीलाई खुला
प्रोटोकलले नेपालमा दर्ता भएका ढुवानीका साधन अनुमति लिएर सिगात्सेसम्म पारवहन ढुवानीका लागि आउन–जान सक्ने व्यवस्था छ । अहिले नेपालका ढुवानी साधन (ट्रकहरू) केरुङसम्म मात्रै पुग्ने गरेका छन् । त्यस्तै, रसुवाबाहेक अन्य जिल्लाको नागरिकता भएका चालकलाई समेत प्रवेशमा रोक लगाइएको थियो । अब भने नेपाली नागरिकता भएका चालकले अनुमति लिएर ढुवानी साधन सिगात्सेसम्म लैजान सक्ने छन् । चिनियाँ बन्दरगाहबाट सबैभन्दा उपयुक्त र किफायती मार्ग प्रयोग गरी नेपालको कार्गो ढुवानी गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

६ वटा नाकाबाटै आयात–निर्यात
हालसम्म नेपाल र चीनबीचका तीनवटा नाका अन्तर्राष्ट्रिय व्यापारका लागि र तीनवटा दुईदेशीय व्यापारका लागि खुला गरिएका थिए । पारवहन प्रोटोकलले अब ६ वटै नाकाबाट अन्तर्राष्ट्रिय व्यापार गर्न सकिने व्यवस्था गरेको छ । प्रोटोकलले रसुवा, कोदारी, किमाथांका, नेचुङ, यारी र ओलाङगाचुङगोला नाकामार्फत पारवहन ढुवानी गर्न सकिने व्यवस्था गरेको सचिव घिमिरेले बताए ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij