मेनुका कार्की, २२ भदौ २०७५, काठमाडौं : बिमा कम्पनीहरूले आर्थिक वर्ष २०७४/०७५ मा सात अर्ब ८१ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका छन् । नेपालमा जीवन र निर्जीवन गरी बिमा कम्पनीको कुल संख्या ३९ छ । गत आवमा २० वटा निर्जीवन बिमा कम्पनी र एउटा पुनर्बिमा कम्पनीले पाँच अर्ब ३९ करोड १९ लाख र १८ वटा जीवन बिमा कम्पनीले दुई अर्ब ४२ करोड २४ लाख नाफा गरेको बिमा समितिले जानकारी दिएको छ ।
बिमा कम्पनी चुक्ता पुँजी वृद्धि र बिमामा सर्वसाधारणको आकर्षण बढ्दै गएका कारण कम्पनीहरूको नाफा बढेको हो । ‘व्यवसाय बढेका कारण कम्पनीको नाफा वृद्धि भएको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले जानकारी दिए । ‘नाफा बढ्नुको अर्थ जीवन बिमातर्फ सर्वसाधारण सचेत हुँदै जानु हो भने निर्जीवनतर्फ नाफा बढ्नुको कारण चाहिँ गत वर्षमा प्राकृतिक विपत्त धेरै नपर्नु हो’, उनले भने, ‘भूकम्प, बाढीपहिरो जाँदा बढी क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ ।’ भूकम्पयता निर्जीवन बिमा व्यवसाय बढेको छ । ‘व्यवसाय बढ्दा नाफा पनि बढेको हो । गत आवमा नौवटा जीवन र तीनवटा निर्जीवन बिमा कम्पनी थपिएका छन् ।
निर्जीवनको नाफा पाँच अर्ब ३९ करोड
एक वर्षको अवधिमा निर्जीवन बिमा कम्पनीले पाँच अर्ब ३९ करोड नाफा कमाएका छन् । २१ वटा निर्जीवन कम्पनीले यो नाफा कमाएका हुन् । गत आवमा आठवटा निर्जीवन कम्पनीको नाफा २० करोडभन्दा माथि छ भने आठवटाको नाफा १० देखि २० करोड रुपैयाँसम्म छ । चारवटा बिमा कम्पनीको नाफा चार करोडभन्दा कम छ ।
गत आवमा जनरल इन्सुरेन्स, अजोड, सानिमा जनरल इन्सुरेन्स कम्पनी नयाँ थपिएका हुन् भने एभरेस्ट इन्सुरेन्स विभिन्न विवादमा फसेको कारण कम नाफा कमाउने सूचीमा परेको छ । एभरेस्टले इन्सुरेन्सले गएको आवमा तीन करोड ७२ लाखमात्र नाफा कमाएको छ ।
गएको आवमा राष्ट्रिय बिमा कम्पनीले ५५ करोड नौ लाख नाफा कमाएर सबैभन्दा बढी नाफा कमाउने निर्जीवन बिमा कम्पनी बनेको छ । ४३ करोड १६ लाख नाफा कमाएर शिखर इन्सुरेन्स दोस्रो बढी नाफा कमाउने कम्पनी बनेको छ । सगरमाथा इन्सुरेन्सले ३३ करोड तीन लाख नाफा कमाएको छ । नेको इन्सुरेन्सले २९ करोड १० लाख नाफा कमाएको छ । सिद्धार्थ इन्सुरेन्सले २७ करोड ५३ लाख नाफा कमाएको छ । गत आवमा पुर्नबिमा कम्पनीले एक अर्ब ४० करोड नाफा कमाएको छ ।
जीवन बिमाको दुई अर्ब
नेपालमा सञ्चालित १८ वटा जीवन बिमा कम्पनीले गत आवमा दुई अर्ब ४२ करोड २४ लाख नाफा कमाएका छन् । बजारमा बिमा कम्पनी थपिँदै जानु र सोहीअनुसार व्यवसाय वृद्धि हुँदै जाँदा बिमा कम्पनीको नाफा पनि बढ्दै गएको हो । अघिल्लो आवसम्म नौवटामात्र जीवन बिमा थिए । गत आवमा थप नयाँ नौवटा बिमा कम्पनी थपिएपछि जीवन बिमा कम्पनीको नाफा पनि बढ्न गएको हो ।
गत वर्ष सबैभन्दा बढी नाफा नेपाल लाइफ इन्सुरेन्स कम्पनीले कमाएको छ । कम्पनीले ४७ करोड ९२ लाख नाफा गरेको छ । बढी नाफा कमाउने कम्पनीमा नेसनल लाइफ इन्सुरेन्स दोस्रोमा परेको छ । यो कम्पनीले गएको आवमा २९ करोड ८३ लाख नाफा पु¥याएकोे छ । मेटा लाइफले २५ करोड ९१ लाख नाफा कमाएर बढी नाफा कमाउने तेस्रो कम्पनी बनेको छ । प्राइम लाइफ इन्सुरेन्सले २१ करोड ६३ लाख नाफा कमाएको छ ।
नौ पुराना बिमा कम्पनीमध्ये राष्ट्रिय बिमा संस्थानको नाफा सबैभन्दा कम देखिएको छ । कम्पनीले गएको आवमा जम्मा एक करोड ९७ लाखमात्र नाफा कमाएको छ । पुराना जीवन कम्पनीमा कम कमाउने दोस्रो कम्पनी गुराँस लाइफ इन्सुरेन्स परेको छ । गुराँस लाइफ इन्सुरेन्सले गएको आवमा जम्मा पाँच करोड ७२ लाखमात्र नाफा कमाएको छ ।
नयाँ कम्पनीको पनि उलेख्य नाफा
गत वर्ष बजारमा आएर आठ/१० महिनामात्र बिमा व्यवसाय गरेका नयाँ बिमा कम्पनीले पनि पुराना कम्पनी सरहनै नाफा कमाएका छन् । कतिपय नयाँ बिमा कम्पनीको नाफा पुरानाको भन्दा राम्रो देखिएको छ । गत आवबाट बिमा व्यवसाय सुरु गरेको रिलायबल नेपाल लाइफ इन्सुरेन्सले १२ करोड ७८ करोड नाफा कमाएको छ । ज्योति लाइफ इन्सुरेन्सले गएको आवमा १० लाख ७८ हजार नाफा गरेको छ । ज्योति लाइफले १० करोड ९० लाख रुपैयाँ कमाएको छ भने गत कातिक २ गतेदेखि व्यावसायिक कारोबार सुुरु गरेको सिटिजन लाइफ इन्सुरेन्सले १० करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ । नौवटा नयाँ जीवन बिमा कम्पनीमध्ये तीनवटाको नाफा १० करोडभन्दा माथि छ भने अन्यले पनि थोरै अवधिमा पाँच करोडभन्दा बढी नाफा कमाएका छन् । गत वर्ष जीवन बिमा कम्पनीले कमाएको नाफा मूल्यांकनभन्दा अगाडिको हो । मूल्यांकनपछि यो नाफामा वृद्धि हुनेछ ।
अन्नपूर्ण पोष्टबाट