बुधबार, २० भदौ २०७५, काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविन घिमिरेलाई सिफारिस गरिेएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो । घिमिरे यसअघि आयोगको कायममुकामय प्रमुख आयुक्त हुनुहुन्थ्यो ।
तत्कालिन प्रमुख आयुक्त दीप बस्न्यातले फागुनमा अवकाश पाएपछि अख्तियारमा प्रमुख आयुक्त पद रिक्त रहँदै आएको छ। घिमिरे बरिष्ठताको आधारमा अख्तियारको कामु प्रमुख रहेका थिए। प्रमुख आयुक्त दीप बस्न्यातको अवकाशपछि २०७४ साल फागुन २ देखि घिमिरेले कार्यवाहक प्रमुखका रुपमा जिम्मेवारी निर्वाह गर्दै आउनुभएको थियो । आयोगका आयुक्तका रुपमा घिमिरे २०७१ चैत १९ गते नियुक्त हुनुभएको थियो ।
सिंहदरबारमा बसेको परिषदको बैठकले घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो। उनको नियुक्तीको लागि संसदीय सुनुवाई समितिमा सिफारिस गर्ने निर्णय भए भएको छ ।
आजको बैठकमा प्राकृतिक स्रोत र वित्त आयोगका प्रमुख तथा सदस्यका बारेमा छलफल भएपछि निर्णय अर्को बैठकमा हुने राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना हुनुहुन्थ्यो ।