पासाङल्यामु सडक खण्डको धुञ्चेदेखि टिमुरेसम्मको विभिन्न स्थानमा गएको पहिरो र बाढीले पु-याएको कटानले गत साउन ११ गतेदेखि अबरुद्ध बनेको सडक सुचारु भएको डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यले जानकारी दिए । उनको अनुसार गोसाईकुण्ड गाँउपालिका–५ खोपाङभीरमा गएको पहिरोको कारण अबरुद्ध भएको सडक हटाएसँगै रोकिएका सवारी साधन रसुवागढी नाकातर्फ आवतजावतमा आएका छन् ।
“विभिन्न चार स्थानमा गएको पहिरो नेपाली सेनाको सहयोगमा खुलाएका छौ ।” उनले भने “अहिले पनि सडक माथी केही जोखिम देखिएकाले त्यो अबरोध हटाउने क्रम जारी नै राखेर यातायात सुचारु गरिएको हो ।”
भदौ १ गते शुक्रबार खोपाङभीरमा गएको पहिरोले क्षति पुगेको सडकको छेउबाट पर्खाल लगाएर र कुनाबाट विष्फोटक पदार्थ प्रयोग गरी विस्तार गरिएको सडक खुलाएसँगै धुञ्चेमा रोकिएका कन्टेनर लगायतका गाडीहरु रसुवागढी नाकातर्फ लागेको शाक्यले बताए ।
यसैगरी, गत साउन ९ गते राती गएको पहिरोले क्षति पु-याएको गोसाईकुण्ड गाँउपालिका–२ स्थित घट्टेखोला पुल गत बिहीबार देखि सञ्चालनमा आएको र त्यस नजिकै (घट्टेखोला–रसुवागढी सडक खण्ड)मा भोटेकोसी नदीले कटान गरी साँघुरो बनाएको सडक विष्फोटक पदार्थ प्रयोग गरी ठूलो बनाउने काम भइरहेको छ । तलबाट भोटेकोसीले कटान गरी सडकको एक लेन बगाएपछि जोखिम भएको सडक निरन्तर एक साताको प्रयासमा पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
सडक सुचारु गराउन आवश्यक उपकरण तथा सहयोग समाग्रिहरु रसुवागढी जलविद्युत आयोजनाले उपलब्ध गराएको थियो भने सडक डिभिजन कार्यालय, मैलुङ स्याफ्रुबेसी निर्माण कार्यदल र नेपाली सेनाको कालीजंग गणले सहयोग पु-याएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनको अनुसार करिब ढेड महिना अघि साउन नौ गते रातीको पहिरोले सडक खण्डको घट्टेखोला जोखिममा पु-याएपछि बन्द गएको सडक खण्डको विभिन्न समयमा थपिएका चार वटा पहिरो सबै हटाइएको छ । “अबरुद्ध सडक सुचारु गराउन विष्फोटक प्रदार्थ समेत प्रयोग भएकाले थप विपद् आउन सक्नेप्रति सचेत भएर गाडी सञ्चालनमा गराएका छौ ।” उनले भने “सडक अबरोध बनेको अवधि लामो भएपनि एकपछि अर्को स्थानमा थपिएको अबरोध सबैको सहकार्यले सोचेभन्दा चाडै सञ्चालनमा ल्याएका छौ ।”
पहिरोले क्षति गरेको त्रिशुली खोलाको खोपाङभीरको सडक र बाढीले क्षति गरेको घट्टेखोलाको पुलको मर्मत दुवै सोचेभन्दा तिव्र गतिमा काम भएकाले केरुङबाट तिर्ज पर्व लक्षित गरेर ल्याइएका स्याउ लगायतका फलफूल, सौन्दर्य र पहिरनका सामाग्रि बोकेका कन्टेनर नेपालतर्फ आउन थालेका छन् । सडक अबरुद्ध हुदाँ पल्टिगर्दै सामाग्रि बोक्न बाध्य भएका व्यवसायी समेत उत्साहित देखिएका छन् । सडक सञ्चालनमा ल्याउन यो महिनाको अन्तिम साता लाग्ने अपेक्षा गरेपनि सोचे भन्दा तिव्र गतिमा भएको काम र सडकमा खसेको ढुङ्गालाई बिष्फोटन गराउन सहजै सफलता मिलेको सडक कार्यालयले जनाएको छ ।
सडक सञ्चालनमा आएसँगै केरुङमा सामाग्रि लिन पुगेका करिब पाँचसय केन्टेनर रसुवागढी नाका हुदै नेपाल आउन लामबद्ध रहेको रसुवाका प्रहरी प्रमुख (डिएसपी) सन्तोष तामाङले जानकारी दिए । उनको अनुसार नेपालबाट करिब एकसय कन्टेनर केरुङ जाने तयारीमा छन् ।
विसं २०७२ बैशाख १२ को विनासकारी भूकम्पका कारण सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनसंग सञ्चालनमा रहेको एक मात्र रसुवागढी नाका समेत पछिल्लो एक महिनादेखि अबरुद्ध हुदाँ आयात–निर्यात प्रभावित बन्न पुगेको थियो । त्रिदेशीय (चीन–नेपाल–भारत) व्यापारको छोटो दुरीको नाकाको रुपमा समेत रसुवागाढी नाका स्थापित हुदै आएको छ ।
रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाको अनुसार मासिक ३० करोड रुपैयाँ भन्दा बढी भन्सार शुल्क उठाउदै आएकोमा चालु आर्थिक वर्षको गत साउनमा २४ करोड ६१ लाख रुपैयाँ संकलन गरेको छ ।
चीन सरकारले रसुवागढी नाकालाई विसं २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरेपनि पूर्वाधार, कर्मचारी, भौगोलिक विकटताको कारण स–साना समस्याले लामो सयमसम्म नाका प्रभावित बन्दै आउने गरेको छ ।
यो नाका हुदै चीनाबाट नेपालतर्फ स्याउ लगायतका फलफूल, तयारी पोषाक, विद्युतीय उपकरण, सौन्दर्य उवम् पहिरनका सामाग्रि भित्रने गरेको छ भने नेपालबाट कृषि उब्जनी, हस्तकलाका सामाग्रि, जडिबुटी लगायतका सामाग्रि केरुङतर्फ जाने गरेको भन्सार कार्यालयले जनाएको छ ।कारोबारबाट