बागलुङ, २७ साउन : अवैध लागूऔषध बनाउन प्रयोग गरेको भन्दै प्रहरीले ताराखोला गाउँपालिका–४ र ५ मा लगाइएको गाँजा (लेकाली भाँगो) फडानी गरेको छ । इलाका प्रहरी कार्यालय ताराखोलाबाट खटिएको प्रहरी टोलीले शनिबार नागी, औलासी, ठूलो हिले, सीप, भिरकुनालगायतको करीब दुई सय रोपनी क्षेत्रफलमा लगाइएको भाँगोका बोट नष्ट गरेको हो ।
वडा नं १, २ र ३ मा पनि गाँजा फडानी गरिने कार्यालयका प्रहरी नायव निरीक्षक सानुकाजी विष्टले जानकारी दिनुभयो । “बाँकी ठाउँको गाँजाखेती आइतबार र सोमबार नष्ट गर्ने तयारी छ,” उहाँले भन्नुभयो । व्यावसायिक भाँगो खेतीको नाममा गाँजा बनाउन प्रयोग गरेपछि फडानी गर्नुपरेको प्रहरीले जनाएको छ ।
वर्षेनी फडानी गर्दा र सचेतना दिँदा पनि स्थानीयवासीले गाँजा बनाउने उद्देश्यका लागि ठूलो मात्रामा भाँगो खेती गर्न छाडेका छैनन् । कतिपय ठाउँमा अझै प्रहरी प्रशासन पुग्न सकेको छैन । जिल्लाको विशेषगरी पश्चिम क्षेत्रमा गाँजाको अवैध उत्पादन, बेचबिखन र ओसारपसार हुने गरेको छ ।
यता, गाँजा या भाँगो जे भनिए पनि अवैध लागूऔषध बनाउन प्रयोग गरिएकाले कानूनविपरीत भएको प्रहरीको दाबी छ । भाँगोकै फल र बोटबाट निस्कने चोप र अन्य पदार्थबाट गाँजा, चरेसजस्ता लागूऔषध बनाउने गरिएको प्रहरीको भनाइ छ ।
गाँजासहित तीनजना पक्राउ
प्रतिबन्धित लागूऔषध गाँजासहित सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ खयरवानाबाट प्रहरीले हिजो साँझ एक पसलेलाई पक्राउ गरेको छ । खयरवाना चौकमा चट्पटे पसल गर्ने ६६ वर्षीय शोभित मण्डललाई पसलमा राखेको दुई किलो लागूऔषध गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलेर अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको समानसहित दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको नरहा गाउँपालिका–३ निवासी ४२ वर्षीया अनितादेवी साह र सोही ठाउँकी ५५ वर्षीया मदिना मिया रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाको साथबाट १५ किलो जीरा, एक क्विन्टल सुजी, रसगुल्ला र पापड लगायतका समान बरामद भएको प्रहरीले जनाएको छ । बरामद समानसहित दुवै महिलालाई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय खैरटोका माडर सिरहामा बुझाइएको छ ।
पोखरीमा डुबेर बालिकाको मृत्यु
सिरहाको गोलबजार नगरपालिका–११ बलकवास्थित पोखरीमा डुबेर शनिबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रवीन्द्र शर्माका छ वर्षीया छोरी रिशिका शर्मा रहेको प्रहरीले जनाएको छ । नुहाउने क्रममा डुबेर बालिकाको मृत्यु भएको परिवारजनले बताएका छन् ।