२०८३ साउन ९ शनिबार

बिमाबाट ७३ अर्ब प्रिमियम

ई आर्थिक    बिहिबार, साउन २४ २०७५
2.4K
Shares
बिमाबाट ७३ अर्ब प्रिमियम

नेपाल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झाले पछिल्लो समयमा सर्वसाधारणमा बिमासम्बन्धी चेतना वृद्धि र कम्पनीको व्यवसाय विस्तार भएका कारण प्रिमियम संकलन बढेको बताए । ‘बिमामा जनचेतना बढ्दै गएको छ भने पहुँच र बजार पनि विस्तार हुँदै गएको छ । अघिल्ला वर्षको तुलनामा बिमा क्षेत्रको विकास राम्रो भए पनि त्यो पर्याप्त होइन’, झाले भने, ‘बिमाको बजार ठूलो छ, आगामी आवमा अझ बजार बढ्छ ।’ अघिल्लो वर्ष विभिन्न कारणले एजेन्टले राम्रोसँग काम गर्न सकेका थिएनन् तर अहिले राम्रोसँग काम गर्न पाएको कम्पनीहरूको भनाइ छ ।

गत आव २० वटा निर्जीवन बिमा कम्पनीले २२ अर्ब १३ करोड प्रिमियम संलकल गरेको बिमा समितिको तथ्यांक छ । अघिल्लो आवमा १७ वटा निर्जीवन बिमा कम्पनीले १९ अर्ब बिमा शुल्क आर्जन गरेका थिए । आव २०७३÷०७४ को तुलनामा आवको तुलनामा गत आव निर्जीवन कम्पनीले साढे १६ प्रतिशत बढी प्रिमियम शुल्क बुझाएका छन् ।

३० खर्बको अर्थतन्त्र भएको देशमा साढे १६ प्रतिशतले प्रिमियम शुल्क बढ्नु त्यति उत्साहनक नभएको सिद्धार्थ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले बताए । व्यापार तथा बैंकिङ कर्जा बढ्दा बिमा व्यवसाय अझ धेरै बढ्नु पर्ने हो’, उनले भने, ‘यो राम्रो वृद्धि होइन सामान्य हो ।’

गत आवसम्म जीवन बिमा कम्पनीले ३१ अर्ब ३८ करोड रुपैयाँ बिमा नवीकरणबाट प्रिमियम संकलन गरेका छन् । बिमा कम्पनीले वैदेशिक रोजगारमा जानेसँग एक अर्ब ८३ करोड रुपैयाँको प्रिमियम संकलन गरेका छन् । एक अर्ब ६ करोड प्रिमियम एकपटक गरिने बिमाबाट संकलन भएको छ । यो बिमा ट्राभल्स तथा अन्य प्रयोजनमा गरिने एकपटक हुने बिमा हो । जीवन बिमातर्फ १५ अर्ब २० करोड पहिलो प्रिमियमबापत संकलन भएको छ ।

गत आव १० वटा नयाँ जीवन बिमा कम्पनी थपिएका छन् । नयाँ बिमा कम्पनीमध्ये आईएमई लाइफ इन्सुरेन्सले ५२ करोड २३ लाख प्रिमियम संकलन गरेको छ । युनियन लाइफले ८४ करोड ९४ लाख, ज्योति लाइफले २८ करोड ४९ लाख, सन् नेपाल लाइफले २९ करोड ६९ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । रिलाइन्स लाइफले आठ करोड ६४ लाख, रिलायवल लाइफले ४२ करोड ७७ लाख रुपैयाँको प्रिमियम संकलन गर्न सफल भएका छन् ।

नयाँ बिमा कम्पनीमध्ये सिटिजन लाइफले ४० करोड ३७ लाख, प्रभु लाइफले ११ करोड ७७ लाख र सानिमा लाइफले नौ करोड ३९ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

पुनर्बिमा कम्पनीको प्रिमियम तीन अर्ब ८२ करोड

नेपाल पुनर्बिमा कम्पनीले गत आव तीन अर्ब ८२ करोड प्रिमियम संकलन गरेको छ । अघिल्लो आवमा बिमा व्यवसायीले तीन अर्ब ४४ करोड रुपैयाँको प्रिमियम गरेका थिए । हाल पुनर्बिमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब छ । अघिल्लो आवमा पुनर्बिमा कम्पनीमा ५१ करोड ४० लाख रुपैयाँको बिमा दाबी परे पनि गएको आवमा भने दाबी नै नपरेको तथ्यांक समितिले दिएको छ ।

गत आवमा बिमा कम्पनीले संकलन गरेको प्रिमियम

कुल प्रिमियम: ७३ अर्ब १५ करोड

जीवन बिमाबाट संकलित प्रिमियम: ५१ अर्ब २ करोड

निर्जीवन बिमाबाट संकलित प्रिमियम: २२ अर्ब १३ करोड

नेपाल पुर्नबिमा कम्पनी: ३ अर्ब ८२ करोड

स्रोत: बिमा समिति

अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij