२०८३ साउन ९ शनिबार

विद्यालयको पक्की भवन बैंकलाई भाडामा, विद्यार्थी टहरामा

ई आर्थिक    बुधबार, साउन २ २०७५
3.1K
Shares
विद्यालयको पक्की भवन बैंकलाई भाडामा, विद्यार्थी टहरामा
श्याम खतिवडा दोलखा, २ साउन । भूकम्पले भवन भत्काइदिएपछि टहरामा सरेका विद्यार्थीका लागि ९० लाखको भवन बन्यो । तर, विद्यार्थी टहरामै छन् । किनकि, व्यवस्थापन समिति र प्रधानाध्यापकले भवन भाडामा लगाएका छन् । सुविधासम्पन्न भवनमा मासिक १५ हजार तिरेर सानिमा बैंकले शाखा खोलेको छ, विद्यार्थीले चुहिने टहरामै कक्षा लिइरहेका छन् ।

पुनर्निर्माण प्राधिकरणले ९० लाखमा बनाइदिएको भवन १५ हजार भाडामा

दोलखाको मेलुङ गाउँपालिका–४ स्थित भीम माध्यमिक विद्यालयको भवन हालै मात्र पुनर्निर्माण प्राधिकरणले ९० लाख खर्च गरेर बनाएको हो । दुई तल्ले पक्की भवन बनेपछि टहरामा पढ्दै आएका विद्यार्थी र अभिभावक खुसी भएका थिए । तर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बिका गोले र प्रधानाध्यापक सचिन थोकरको मिलेमतोमा नवनिर्मित भवन सानिमा विकास बैंकलाई भाडामा दिइएको छ ।

सोमबार छाप्रोमा विद्यार्थी पढिरहँदा बैंकले पक्की भवनमा भव्य समारोहबीच कार्यालय उद्घाटन ग-यो । गाउँपालिका प्रमुख नरबहादुर श्रेष्ठ, उपप्रमुख कल्पना भण्डारी र वडाध्यक्ष छत्रबहादुर तामाङ कार्यक्रममा अतिथि थिए । तर, उनीहरूले विद्यार्थीको पक्षमा एक शब्द पनि बोलेनन् ।

स्थानीय अभिभावक तथा वडासदस्य नवीनकुमार गोलेका अनुसार वर्षामा टहरो चुहिएर कक्षा कोठा हिलाम्य हुन्छ । ‘बालबालिकाको अधिकारै हनन् हुने गरी विद्यालय प्रशासन र व्यवस्थापन समितिले मनोमानी गरे, शैक्षिक संस्था सेवामुखी हुनुपर्नेमा नाफामुखी हुन खोज्यो,’ उनले भने, ‘यसका विरुद्ध गाउँसभामा प्रस्ताव नै लैजान्छु ।’

शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले पुनर्निर्माण गरिएको विद्यालय भवन भाडामा लगाउन नमिल्ने स्पष्ट पारे । तर, मेलुङमा त्यस्तो भएको विषयमा आपूmलाई जानकारी नभएको बताए ।

विद्यालयको हितमा भाडामा दिएको हो, विरोध गर्ने फटाहा हुन्
अम्बिका गोले, व्यवस्थापन समितिका अध्यक्ष

विद्यालयको आयस्रोत बढ्छ भनेर मेरो नेतृत्वमा यो निर्णय भएको हो । तर, सामाजिक हित नचाहनेले विरोध गर्न थालेका छन् । त्यस्ता फटाहा हिजो पञ्चायतकालमा पनि थिए, आज पनि छन् । तर, सही निर्णय गरेकाले म डराउँदिनँ ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij