काठमाडौँ : केन्द्रीय गलैँचा उद्योग संघ नेपाल र नेपाल गलैँचा निकासीकर्ता संघबीच एकता भएको छ ।
गलैँचा उद्योगको विकासका लागि दुवै संघले एकताको घोषणा गरेको यहाँ आयोजित एक कार्यक्रममा बताइयो । एकीकृत भएको उक्त संघको नाम अब नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघ भएको छ ।
सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिदैं दुई संघबीचको एकताले गलैँचा उद्योगको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गलैँचा उद्योगको संरक्षण र विकासका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्वता व्यक्त गर्नुभयो ।
एकीकृत नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष रामबाहदुर गुरुङले गलैँचा उद्योगको विकासका लागि दुई संघ एक भएको उल्लेख गर्दै एकता नै सफलताको खम्बा भएको बताउनुभयो ।
केन्द्रीय गलैँचा उद्योग संघका पूर्वअध्यक्ष छिरिङ शेर्पाले सरकारले गलैँचा उद्योगमा काम गर्ने मजदुरका लागि रासन कार्डको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विष्टले गलैँचा उद्योग क्षेत्रमा विशेष योगदान पु¥याउने छिरिङ शेर्पा, रामबहादुर गुरुङ, आङ ग्याल्बु एजी शेर्पा, कवीन्द्रनाथ ठाकुर, विजयबहादुर श्रेष्ठ, डा ज्योति तण्डुकार, शम्भु शेर्पालगायतलाई सम्मान गर्नुभयो ।