विशेष अदालतका न्यायाधीशहरू बाबुराम रेग्मी, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले संखुवासभा मालपोतका निमित्त प्रमुख सीताराम पौडेल र कमलबहादुर ढुंगेललाई तीन महिना कैद र १५ लाख २० हजार आठ सय रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ । सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ फागुन २०७३ मा १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
संखुवासभाको नुनढाँकीको दुई सय ८० रोपनी जग्गा आफ्नो नाममा दर्ता गराउने जग्गाधनीहरू पुण्यप्रसाद लिम्बू, शंकरकुमार लिम्बू, झंकबहादुर लिम्बू, लोकबहादुर लिम्बू र पासाङ शेर्पालाई जनही तीन महिना कैद र १२ लाख आठ सय जरिवाना हुने फैसला सुनाइएको छ ।
एक सय ५८ रोपनी सार्वजनिक जग्गा दर्ता गरेका जग्गाधनीहरू शान्तबहादुर लिम्बू, ठोकबहादुर लिम्बू र दुर्गाबहादुर लिम्बूलाई तीन महिना कैद, तीन लाख २० हजार जरिवाना गर्ने फैसला विशेषले सुनाएको छ । अदालतले लेखापढी व्यवसायीसहित पाँचजनालाई सफाइ दिएको छ । लेखापढी गर्ने तीनजना, नापी कार्यालय प्रमुख मयंककुमार कर्ण र खरिदार गुणराज पोखरेलले सफाइ पाएका हुन् ।
नयाँ पत्रिकाबाट