वीरेन्द्र ओली, काठमाडौ,२० असार । आईतबार रातीदेखि परेको वर्षाका कारण मानवीयसंगै भौतिक क्षति भएको छ । वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो गयो भने तराई क्षेत्रमा ढुवा भयो ।वर्षाका कारण बाढी र पहिरोबाट तीन दिनमा २२ जनाको मृत्यु भएको छ भने २ जना अझै वेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । बाढी र पहिरोबाट अहिलेसम्म ८ जना गम्भिर घाईते भएका छन् ।
कुन जिल्लामा कति मानवीय क्षति भयो
बाढीका कारण पहाड र तराई क्षेत्रका १५ जिल्ला प्रभावित भएका छन् । बाढी र पहिरोका कारण मंगलबार वेलुकासम्म वाँके ४ जना, रोल्पा ३ जना, सिन्धुली, पर्सा, सर्लाही जिल्लामा २/२ जनाको मृत्यु भएको छ । यस्तै कैलाली, चितवन, काठमाडौं, तनहुँ, उदयपुर, सिराह, दाङ, र महोत्तरीमा १/१ जनाको मृत्यु भएको छ ।
यस्तै सर्लाही र तनहुँमा १/१ जना वेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । वेपत्ताको खोजी कार्य जारी राखिएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । सरकारले प्राकृतिक प्रकोपबाट घाइते भएमा ५० हजार र मृत्यु भएमा १ लाख रुपैयासम्म राहत दिने व्यवस्था छ । भौतिक क्षतिको विवरण संकलन गर्ने कार्य भई रहेको गृह मन्त्राले जनाएको छ ।
आज रातीदेखि मौसममा क्रमिक सुधार हुँदै जाने
आईतबार रातीदेखि शुरु भएको झरी आज राती(बुधबार)देखि मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाका मौसमविद सुवास रिमालले बताए । मंगलबार पश्चिमी क्षेत्रमा देखिएपनि बुधबार रातीदेखि दैशैभर सुधार हुँदै जाने उनले बताए ।
‘आज दिउसो मध्य सहित पूर्वी क्षेत्रका २/३ स्थानमा भारी वर्षा हुन सक्छ ।’ रिमालले भने, ‘अन्य क्षेत्रमा मध्यम देखि सामान्य खालको वर्षा हुने प्रक्षेपण गरेका छौ ।’ आगामी विहिबारदेखि लगातार जस्तो झरी नहुने रिमालले बताए । ‘मनसुनको समय भएकाले वर्षा हुने र रोकिने भई नै रहन्छ ।’ उनले भने, ‘तर, गत तीन दिन देखि भए जस्तो लगातार झरी तत्काल हुने देखिदैन ।’ अरव सागरदेखि जलवाष्प आएपनि न्यून चापिय रेखा तराई भन्दा अझ दक्षिण सरेकाले वर्षा कम हुदै जाने रिमालले बताए ।
मंगलबार कहाँ कति वर्षा भयो ?
जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाको वेलुका ६ बजेसम्मको तथ्याङक अनुसार सबैभन्दा धेरै वर्षा सिमरा र पोखरामा ७६/७६ मिलिमिटर वर्षा भएको छ । यस्तै भैरहवामा ६५मिमि, नेपालगञ्ज ५८ मिमि, दाङ ५६ मिमि, धनगढी ५२मिमि, विराटनगर ५१मिमि वर्षा भएको छ । यस्तै काठमाडौंमा ३३मिमि, ताप्लेजुङ २७मिमि , धनकुटा २४मिमि, ओखलढुङ २२ मिमि, सुर्खेत २१ मिमि, दिपायल २० मिमि र डढेलधुरामा १४ मिमि वर्षा भएको छ ।
तत्काल ठूलो बाढीको सम्भावना छैन : विभाग
जल तथा मौसम विज्ञान विभागका हाईड्रोलोजिष्ट विनोद पराजुलीले तत्काल ठूलो खालको बाढी आउँने सम्भावना नरहेको बताए । ‘वर्षातको समय भएकाले साना खालका बाढी आउँन सक्छन ।’ पराजुलीले भने, ‘तत्काल मानवीय क्षति हुनेगरी ठूलो खालको बाढी आउँने सम्भावना देखिदैन ।’ तर, वर्षातको समय भएकाले नदी खोली नजिक बस्ने सर्वसाधरण सचेत भई बस्न पराजुलीको अनुरोध छ ।
उच्च पहाडीदेखि तराईसम्म धमाधम धान रोपाईँ चल्दै
देशैभर मनसुनरी झरी सक्रिय भएपछि धमाधम धान रोपाई भई रहेको छ । कृषि तथा सहकारी विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीका अनुसार धान रोपाई सन्तोषजनक रुपमा भई रहेको बताए । सोमबार वेलुकासम्म उच्च पहाडी क्षेत्रमा ४० प्रतिशत,पहाडी क्षेत्रमा ३५ प्रतिशत र तराईमा १७ प्रतिशत मात्र रोपाई भएको कार्कीले बताए ।
उच्च पहाडी र पहाडी क्षेत्रमा छिटो धान रोपिने भएकाले तराई भन्दा धेरै रोपाईँ भएको हो । यो वर्ष निरन्तर वर्षा भई रहेकाले कुल ९५ प्रतिशत धान रोपाई हुने अपेक्षा लिएको छ । नेपालमा धान खेती १५ लाख ५२ हजार हेक्टर क्षेत्रमा धान खेती हुन्छ ।
नयाँ पत्रिकाबाट