काठमाडौं– रोड सेफ्टी फिल्म फेस्टिभलमा नेपाल फिल्म एकेडेमीद्वारा निर्देशित फिल्म ‘दृष्टि’ उत्कृष्ट फिल्म बन्न सफल भएको छ ।
त्यसैगरी नेपाल फिल्म एकेडेमीद्वारा नै निर्देशित अर्को फिल्म ‘पछुतो’ दोस्रो र ज्ञानेन्द्र कोइरालाद्वारा निर्देशित ‘सरी बेटा’ फिल्म तेस्रो बनेको छ ।
पहिलो विजेता फिल्मले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार नगदका साथै शिल्ड र सर्टिफिकेट प्राप्त गरेका छन् ।
सहभागी तथा बिजेताहरुलाई कार्यक्रमका अतिथि योगेश भट्टराई, कर्ण बहादुर थापा र बिनोद श्रेष्ठले शिल्ड, सर्टिफिकेट तथा पुरस्कार प्रदान गरेका थिए ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को आयोजना र नासा फाउन्डेसनको व्यवस्थापनमा आज नेपालमै पहिलो पटक आयोजित काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभलमा यी फिल्म विजयी भएका हुन् ।
नेपाल टुरिजम बोर्डको हलमा सम्पन्न सो फेस्टिभलकोे शुभारम्भ पूर्व उप—प्रधानमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए भने कार्यक्रममा बिशिष्ट वक्ताका रुपमा बेलायतका पूर्व यातायात मन्त्री पाउल क्लार्क, फेडरेसन इन्टरनेसनल डी मोटोसाइक्लिज्म (एफआईएम) का प्रतिनिधि ओमार जारौर, इन्डियन एलाइन्स फर रोड सेफ्टी एनजीओका अध्यक्ष अनुराग कुलश्रेष्ठ थिए ।
सो अवसरमा मुख्य अतिथिका रुपमा पूर्व मन्त्री कर्ण बहादुर थापा, संघीय संसद सदस्य योगेश भट्टराई र जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठको उपस्थिति रहेको थियो ।
निर्णायक मण्डलमा वरिष्ठ कलाकार आरपी पन्त, सञ्चारकर्मी दिनेश डिसी, चलचित्र सम्पादक नवीन निरौला, पत्रकार दिवस गुरागाईं र ट्राफिक इन्जिनियर आशिष गजुरेल थिए ।
कार्यक्रममा १२ जना नेपाली कलाकारद्वारा अभिनित ूक्ब्ख्भ् ३घछण्ण् ीक्ष्ख्भ्क् ऋबmउबष्नलू भिडियो समेत लन्च गरिएको थियो ।
फेस्टिभलमा कुल १७ वटा फिल्मले सहभागिता जनाएका थिए ।
संसारमा विकराल मानव निर्मित समस्या बन्दै गएको छ सडक दुर्घटना । आज संसारमा वार्षिक रुपमा चौध लाख भन्दा बढी व्यक्तिहरुले सडक दुर्घटनामा परि अकाल मै ज्यान गुमाई रहेका छन् भने नेपालमा २ सय भन्दा बढी अनाहक मै मारिन्छन् ।
त्यसै गरि नेपालमा वार्षिक हजारौंको संख्यामा अंगभंग भइरहेका छन् भने वार्षिक अर्बौको क्षति भइरहेको पनि छ ।
सडक दुर्घटनाका कारण हाम्रो सामाजिक संरचना नै धरापमा पर्ने अवस्थामा पुगेको छ । र, त्यही कहाली लाग्दो अवस्थामा केही सुधार गर्ने उद्देश्यका साथ सरकारी र नागरिक स्तरमा पनि केही न केही कार्य भइरहेका पनि छन् ।
त्यसैको एक प्रयासको रुपमा नासा फाउन्डेसन र अन्य संस्थाहरुले पहिलो पटक रोड सेफ्टी फिल्म फेस्टिभल आयोजना गरेको बताएका छन् ।
नासा फाउन्डेसन नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) अन्तर्गतको कल्याणकारी संस्था हो ।