काठमाडौं । शहरी क्षेत्रमा गाडी चलाउन हरियो स्टिकर अनिवार्य गर्ने तयारी यातायात व्यवस्था विभागले गरेको छ । विभागले साउन १ गतेबाट शहरी क्षेत्रमा प्रदूषण जाँचपास गराएर हरियो स्टिकर अनिवार्य रूपमा लिनुपर्ने नियम लागू गर्ने भएको हो । मुलुकभर हरियो स्टिकर अनिवार्य गर्नका लागि पहिलो चरणमा देशभरका उपमहानगरपालिका र महानगरपालिकामा कार्यान्वयनमा ल्याउन लागिएको हो । विभागका अनुसार यो नियम काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा अनिवार्य हुनेछ ।
वैशाखदेखि नै कार्यान्वयनमा ल्याउने तयारी गरेको भए पनि समयमा मेशिनहरू आइनपुगेकाले साउनदेखि अनिवार्य गर्न लागिएको यातायात व्यवस्था विभागका निर्देशक तुल्सीराम अर्यालले बताए । उनका अनुसार कर्मचारीहरूलाई तालीम दिन लागिएको छ । यसका लागि यातायात व्यवस्था विभागले ३८ ओटा मेशिन ल्याइसकेको छ । दुईओटा मेशिन आउने क्रममा रहेको उनले जानकारी दिए । ती ४० ओटा मेशिन १४ ओटा यातायात कार्यालय तथा छओटा सेवा कार्यालयमा राखेर प्रदूषण जाँच गरिने विभागले जानकारी दिएको छ । निजी सवारीसाधनले वर्षमा एक पटक र सार्वजनिक सवारीसाधनले प्रत्येक ६÷६ महीनामा सवारीसाधन जाँचपास गराएर हरियो स्टिकर लिनुपर्ने व्यवस्था छ । यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउने उद्देश्यले हरियो स्टिकर अनिवार्य गर्न लागिएको यातायात व्यवस्था विभागको भनाइ छ ।
विभागका अनुसार पेट्रोलबाट चल्ने र डिजेलबाट चल्ने सवारीसाधनका लागि छुट्टाछुट्टै मेशिन आवश्यक पर्छ । पेट्रोलबाट चल्ने सवारीसाधनले फ्याँक्ने धूवाँको मात्रा ‘ग्यास एनालाइजर’ मार्फत नापिन्छ भने डिजेलबाट चल्ने सवारीसाधनले फ्याँक्ने धूवाँ ‘डिजेल स्मोक मिटर’ मार्फत नापिन्छ ।
जाँचपास नगराई चलाए यस्तो छ कारबाही
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६०(३) बमोजिम प्रदूषण फेल भएका सवारीसाधनलाई २ सयदेखि १ हजार रुपैयाँसम्म जरीवाना गर्ने व्यवस्था छ । सोही ऐनमा यस्ता सवारीसाधनलाई रातो स्टिकरसमेत दिन सक्ने उल्लेख छ । रातो स्टिकर पाएका सवारीसाधनलाई मर्मत गर्ने ठाउँ वर्कशपसम्म मात्रै जाने अनुमति हुन्छ । तर, अहिले प्रदूषण फेल भएका सवारीसाधनलाई सामान्य जरीवाना गरेर छोड्ने गरिएकाले प्रदूषण फेल भएका सवारीसाधनको सङ्ख्या ठूलो छ ।
अभियानबाट