काठमाडौँ, १२ असार : एशियाली उत्पादकत्व संगठनका महासचिव डा शान्थी क्यानोक्यातानापोर्नले नेपालको औद्योगिक क्षेत्रको उत्पादकत्व कसरी बढाउने भन्ने विषयमा नेपालका सरकारी अधिकारीसँग छलफल भइरहेको बताउनुभएको छ ।
नेपाल भ्रमणमा रहनु भएका महासचिव क्यानोक्यातानापोर्नले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो ।
एशिया प्रसान्त क्षेत्रका मुलुकहरुमा उत्पादकत्व वृद्धिका लागि सहकार्य गर्दै आएको उक्त संगठनले नेपालमा पनि उत्पादकत्व वृद्धि गर्ने तथा त्यसका लागि गुरुयोजना तयार गर्न सरकारी निकायका अधिकारीसँग छलफल गर्न उहाँ नेपालको भ्रमणमा आउनुभएको हो ।
महासचिव क्यानोक्यातानापोर्नले तीन दिनको नेपाल बसाइँमा उद्योगमन्त्री मात्रिकाप्रसाद यादवसहित सरकारी उच्चपदाधिकारीसँग भेटघाट गर्नुका साथै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका उद्यमीसँग छलफल गरिरहनुभएको छ ।
नेपालको औद्योगिक क्षेत्रमा ज्ञान तथा प्रविधि तथा रणनीतिक अभिवृद्धि साझा योजना कार्यान्वयनमा आफ्नो भ्रमण केन्द्रित रहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रका प्रमुख अन्जना ताम्राकारले नेपालको राष्ट्रिय योजनाको उत्पादकत्व वृद्धिका लागि गुरुयोजना तयार गर्न सहयोग गर्ने उद्देश्यले महासचिव क्यानोक्यातानापोर्नको नेपाल भ्रमण केन्द्रित भएको बताउनुभयो ।