२०८३ साउन ९ शनिबार

डनहरूको सूची तयार, टार्गेटमा १९० डन, प्रहरीको आक्रामक अभियान

ई आर्थिक    शनिबार, असार ९ २०७५
3.5K
Shares
डनहरूको सूची तयार, टार्गेटमा १९० डन, प्रहरीको आक्रामक अभियान

काठमाडौं, ९ असार । उपत्यकामा गुण्डागर्दीमा संलग्न कति डन छन् ? प्रहरीले डनहरूको सूची बनाएको छ । जसअनुसार, उपत्यकामा १९० डन छन् । उनीहरूविरुद्ध प्रहरी आक्रामक बनेको प्रहरीले अप्रेसन थालेको छ ।

गुण्डागर्दीमा संलग्न केहीलाई पक्राउ गरेको प्रहरीले २३ जना नाइकेलाई त उच्च निगरानीमै राखेको छ । प्रहरीका अनुसार कपनका फुपू भनिने ३७ वर्षीय फुपुछिरिङ शेर्पा, सोल्टिमोडका ३७ वर्षीय वसन्तकुमार भुसाल, बालाजूका ३४ वर्षीय कान्छा भनिने दीपेन्द्र प्याकुरेल, काभ्रेका ३३ वर्षीय स्याल भनिने सञ्जीव लामा, रातोपुलका २४ वर्षीय आशिष राई, सोलुखुम्बूका २७ वर्षीय कृष्ण खड्का निगरानीमा छन् ।

त्यस्तै, गोंगबूका ३८ वर्षीय काले भनिने साजन महर्जन, चाँगु नारायणका फिस्टे भनिने ३५ वर्षीय रामेश्वर गौतम, सर्लाहीका ३१ वर्षीय श्याम मोक्तान, संखुवासभाको दिदिङ–१ का ३३ वर्षीय दुर्गाबहादुर राई, सामाखुसीका ३२ वर्षीय नेरू लामा, भक्तपुरका ५४ वर्षीय नवीन विष्ट, ठमेलका ४९ वर्षीय दीपक मनांगे भनिने राजीव गुरुङ, बसुन्धराका ३३ वर्षीय निरे भनिने रिजन पौडेल र महाराजगन्जका चक्रे मिलन भनिने ४५ वर्षीय मिलन गुरुङ यो सूचीमा छन् । उच्च निगरानीकै सूचीमा नयाँ बानेश्वरका ३६ वर्षीय उमेश लामा, बौद्धका केसी भनिने २८ वर्षीय प्रवीण खड्का, बौद्धकै दावा भनिने ३४ वर्षीय जितेन्द्र तामाङ, स्वयम्भूका २८ वर्षीय कारोतो गुरुङ र स्वयम्भूकै ३८ वर्षीय कर्मा घले पनि छन् ।

आक्रामक अप्रेसन
यसमध्ये, दीपक मनांगे उर्फ राजीव गुरुङ र स्याल भनिने सञ्जीव लामा पक्राउ परिसकेका छन् । प्रदेश ४ का सांसदसमेत रहेका मनांगे अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा स्वयम्भूबाट पक्राउ परेका थिए । लामालाई भने बलात्कारको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । त्यसबाहेक काभ्रेका चर्चित डन गणेश लामा र उनकै सहयोगमा हुर्किएका अशोक लामा थुनामै छन् । गणेश हातहतियार मुद्दामा पक्राउ गरिएको थियो भने अशोकलाई जबरजस्ती चन्दा असुलेको अभियोगमा प्रहरीले खुट्टामा गोली हानी नियन्त्रणमा लिएको थियो ।

काठमाडौं परिसरका प्रवक्ता डिएसपी मोहन थापाले गुण्डागर्दीविरुद्ध प्रहरी आक्रामक ढंगले लागेको बताए । उनले भने, ‘गुण्डागर्दी नियन्त्रणका लागि हामीले विशेष कार्यविधि बनाएका छौँ । जसअनुसार राजधानीका डन भनिनेहरूको सबै लिस्ट उतारेका छौँ । चालचलनका आधारमा वर्गीकरण गरेर केही पक्राउ परिसकेका छन् । केही उच्च निगरानीमा छन् ।’

महानगरीय अपराध अनुसन्धान महाशाखा पनि गुण्डागर्दी नियन्त्रणमा आक्रामक ढंगले लागेको छ । अशोक लामामाथि गोली प्रहार गर्नु र डनले लिएका लाइसेन्स प्राप्त हतियार जफत गर्नु यसका उदाहरण हुन् । महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले भने, ‘गुण्डागर्दी नियन्त्रणप्रति प्रहरी आक्रामक ढंगले लागेको छ ।’ गुण्डागर्दी नियन्त्रण अभियानकै क्रममा अशोक लामालाई पक्राउ र वीरेन्द्रलाल श्रेष्ठ, बले भनिने बलराम सापकोटा, आङकाजी शेर्पा र रगुनाथ पुरीको लाइसेन्स प्राप्त हतियार जफत गरिएको सिंहले बताए ।

डनहरुको सूचि :

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij