राजु चौधरी, जेष्ठ १७, २०७५, काठमाडौँ — सरकारले नेसनल ट्रेडिङको सम्पत्ति खाद्य संस्थानमा गाभ्ने भएको छ । संस्थानलाई राष्ट्रिय आपूर्ति कम्पनीका रूपमा पुन:संरचना गर्न सरकारले उक्त निर्णय गरेको हो ।
स्थानीय तहको सहकार्यमा बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाइनेछ,’ संसद्मा मंगलबार बजेट भाषण गर्दै अर्थमन्त्री खतिवडाले भने, ‘खाद्य संस्थानलाई राष्ट्रिय आपूर्ति कम्पनीका रूपमा पुन:संरचना गरी नेसनल ट्रेडिङको सम्पत्ति र दायित्व यसैमा गाभिनेछ ।आपूर्ति प्रणालीलाई प्रतिस्पर्धी बनाई वस्तु तथा सेवाको एकाधिकार र मूल्य मिलेमतोको अन्त्य गर्न खाद्यमा गाभेर राष्ट्रिय आपूर्ति कम्पनी बनाउन लागेको अर्थमन्त्री युवराज खतिवडाले बताए । ‘आपूर्ति प्रणालीलाई प्रतिस्पर्धी बनाउनुका साथै सबै प्रकारका वस्तु तथा सेवाको एकाधिकार र मूल्य मिलेमतोको अन्त्य गरिनेछ ।
यस कम्पनीमार्फत राज्यले तोकेको समर्थन मूल्यमा खाद्य वस्तु खरिद गर्ने र त्यस्ता वस्तुहरूको सुलभ आपूर्ति सुनिश्चित गर्ने प्रबन्ध मिलाइनेछ ।’
मन्त्रिपरिषद् बैठकले नेसनललाई गत माघमा खारेज गर्ने निर्णय गरेको थियो । नेसनलको घाटा १ अर्ब ३४ करोड रुपैयाँ पुगेको थियो । कर्मचारीलाई अवकाश दिनका लागि टेकुस्थित ४९ रोपनी १० आना जग्गा आयल निगमले ३ अर्ब २५ करोड रुपैयाँमा खरिद गरेको थियो । कर्मचारीलाई अवकाशपश्चात् मन्त्रिपरिषद्को बैठकले खारेज गर्ने निर्णय गरेको थियो । जानकारहरूका अनुसार कम्पनी खारेज भए पनि सम्पत्ति व्यवस्थापनसम्बन्धी ठोस निर्णय भएको थिएन ।
हाल नेसनल ट्रेडिङसँग करिब २५ अर्ब रुपैयाँ बराबरको सम्पत्ति रहेको एक प्रतिवेदनले देखाएको छ । नेसनलको जग्गा, गोदाम, सटर र विभिन्न कम्पनीमा रहेको सेयर लगानी गरी ठूलो परिमाणमा सम्पत्ति रहेको दाबी प्रतिवेदनमा गरिएको छ । ‘नेसनलको गोदाम तथा सटर ३७ करोड, विभिन्न कम्पनीमा ६५ करोड रुपैयाँ बराबरको सेयर लगानी र सरकारी रेटकै आधारमा ८ अर्ब १४ करोड रुपैयाँ बराबरको जग्गा छ,’ प्रतिवेदनमा छ ।
बजार मूल्यअनुसार जग्गाको मात्रै २२ देखि २५ अर्ब रुपैयाँ पर्ने जनाएको छ । नेसनलले हिमाल सिमेन्ट कम्पनीसँग ४५ करोड रुपैयाँ लिनु छ । गोरखाकाली उद्योग, विशाल बजार कम्पनी, नेपाल आयल निगम, नेपाल ल्युब आयल, साल्ट ट्रेडिङ कर्पोरेसन, साझा भण्डार सहकारी, खाद्य उद्योग र साझा पसल सेवामा १९ करोड रुपैयाँको सेयर लगानी छ ।
यन्त्र बिक्री तथा मर्मत केन्द्र (रामशाह पथ) मा २६ रोपनी जग्गा छ । उक्त जग्गा सरकारले ४ अर्ब १३ करोड रुपैयाँ मूल्यांकन गरेको छ । विराटनगरमा ५ बिघा ८ कट्ठा जग्गा छ । उक्त जग्गाको मूल्य ६५ करोड रुपैयाँ मूल्यांकन गरेको छ । त्यस्तै, वीरगन्जमा ६ बिघा ४ कट्ठा जग्गा छ । यसको ९९ करोड रुपैयाँ मूल्यांकन गरेको छ । भैरहवामा १ बिघा १६ कट्ठा छ । उक्त जग्गाको १४ करोड मूल्यांकन गरेको छ । पोखरामा २२ रोपनी जग्गा छ । उक्त जग्गाको १ अर्ब ४० करोड रुपैयाँ मूल्यांकन गरेको छ । नेपालगन्जमा १ , धनगढीमा २ बिघा ११ कट्ठा, महेन्द्रनगरमा १ बिघा ७ कट्ठा, सुर्खेतमा ११ कट्ठा, दाङमा १५ कट्ठा १४ धुर र धनकुटा २ रोपनी १० आना जग्गा छ । नेसनलले भारतको कोलकातामा पनि घरभाडामा लिएको छ । भारतमा ३ वटा फ्ल्याट छन् ।
हाल खाद्य संस्थान नोक्सानमा छ । संस्थानको पुँजी ९९ करोड र नोक्सान १ अर्ब १६ करोड रुपैयाँ छ । खाद्यको सम्पत्ति मूल्याङकन गर्दा ५० अर्ब भन्दा बढी नाघ्ने संस्थानका विभागीय प्रबन्धक श्रीमणिराज खनालले बताए ।
नेसनलको सम्पत्ति गाभिँदा खर्ब नाघ्ने जानकारहरू बताउँछन् । यस्तै, दुर्गम क्षेत्रमा खाद्यान्न ढुवानी गर्न पनि रकम विनियोजन गरेको अर्थमन्त्री खतिवडाले बताए । प्रत्येक स्थानीय तहमा सहकारी संस्थाहरू मार्फत सुपथ मूल्य पसल खोल्ने व्यवस्था मिलाइने जनाएको छ । सहकारी पसलले खरिद गर्ने उपभोग्य वस्तुको थोकमूल्य पसलको व्यवस्था गरिनेछ । ‘राज्य सुरक्षा परिचयपत्र भएका नागरिकले सुपथ मूल्यमा आधारभूत खाद्यान्न प्राप्त गर्ने व्यवस्थाका लागि अनुदानको व्यवस्था गरेको छु,’ उनले भने ।
कान्तिपुरबाट