काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले भोलि अपारान्ह ४ बजे संघीय संसदमा आर्थिक वर्ष ०७५-०७६ को बजेट प्रस्तुत गर्ने भएका छन् । बजेट लगभग १६ खर्बको आउने अनुमान गरिएको छ । सरकारले केही दिनअघि प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई आधार मानेर बजेट तयार गरेको हो ।
संविधानको धारा ११९ अनुसार राजस्व र व्ययको अनुमान अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार अपराह्न ४ बजे बोलाइएको संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम छ । अर्थमन्त्री खतिवडाले राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र संघीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकमहरू प्रस्तुत गर्नुहुनेछ ।
संविधानबमोजिम वार्षिक अनुमान पेश गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन, त्यसको विवरण पनि साथै पेश गर्नुपर्नेछ । बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विद्येयक–२०७५, आर्थिक कार्यविधिसम्बन्धी विद्येयक– २०७५ र राष्ट्र ऋण उठाउने विद्येयक– २०७५ पेश गर्नुहुनेछ ।
यसपटक केन्द्र र तल्ला तहका सरकारको बजेटलाई छुट्टाछुट्टै शीर्षकमा राखिनेछ । तल्ला तहमा हुने वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँडलाई छुट्टै शीर्षकमा राखिनेछ । त्यस्तै, मूल्य अभिवृद्धि कर र आन्तरिक अन्तःशुल्कबापतको ३० प्रतिशत र प्राकृतिक स्रोतबाट प्राप्त हुने ५० प्रतिशत रकम घटाएर मात्रै केन्द्रको राजस्व अनुमान सार्वजनिक गरिनेछ । यी रकम राजस्व बाँडफाँडअन्तर्गत तल्ला सरकारमा हस्तान्तरण हुन्छन् ।
यसअघि नेपाल राष्ट्र बैंकले पूर्वबजेटकालीन समीक्षामार्फत तीन तहका सरकारको एकीकृत बजेटको आकार १५ खर्बको हाराहारी पु(याउनुपर्ने सुझाब दिएको थियो । त्यसमध्ये संघीय सरकारको बजेट १२ खर्बको हाराहारी रहने र तल्ला तहका सरकारको एकीकृत बजेट ३ खर्बको हुनुपर्ने सुझाब राष्ट्रबैंकको थियो ।
सरकारले संघीय बजेटको आकार राष्ट्रबैंककै सुझावअनुसार ल्याउने भए पनि तल्ला तहका सरकारको एकीकृत बजेटको आकार भने १ खर्ब रुपैयाँ थप गर्ने तयारी गरेको हो । सरकारको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा झण्डै दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य निर्धारण गरिएको छ ।
त्यसका लागि पनि सार्वजनिक खर्चको आकार बढाउनुपर्ने हुनाले बजेटको आकार शुरु विनियोजनको तुलनामा २५ प्रतिशत र मध्यावधि समीक्षाको अनुमानको तुलनामा करीब ४८ प्रतिशत वृद्धि हुने भएको हो ।