काठमाडौँ, ९ जेठ : प्रहरीले काठमाडौँको लैनचौरबाट कालो हिरासहित आठ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले हिराको कारोबार हुँदै गर्दा रमेश रजकसहित आठ जनालाई आज दिउँसो पक्राउ गरेको हो । वृत्तका प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लको नेतृत्वमा गएको टोलीले गोप्य सूचनाका आधारमा दुईवटा कालो हिरा रु तीन करोडमा बिक्री गर्न बार्गेनिङ गर्दै गर्दा पक्राउ गरेको हो ।
पक्राउ परेका अन्य व्यक्तिको नाम भने खुलाइएको छैन । उनीहरुलाई आवश्यक कारबाहीका लागि हिरासहित राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको वृत्तले जनाएको छ ।
लागुऔषधसहित पक्राउ
बुटवल : इलाका प्रहरी कार्यालय बुटवलले ठूलो परिणाममा लागुऔषधसहित एक युवकलाई आज पक्राउ गरेको छ ।
बुटवल उपमहानगरपालिका–६ ट्राफिकचोकस्थित राजमार्गमा जाँचका क्रममा बाग्लुङ बलेवा गाउँपालिका–२ का विजय कुँवरलाई नुफिन ३५० एम्पुल्स, फेनरागन ३५० एम्पुल्स र डाइजेपाम ३५० एम्पुल्ससहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।