२०८३ साउन ९ शनिबार

नेपाल–भारतबीचका ३१ सीमास्तम्भ निर्माण, १०१ को मर्मत

ई आर्थिक    शुक्रबार, बैशाख २८ २०७५
4.9K
Shares
नेपाल–भारतबीचका ३१ सीमास्तम्भ निर्माण, १०१ को मर्मत

धनगढी,२८ वैशाख : नेपाल–भारतको संयुक्त सीमा सर्भेसम्बन्धी टोलीले कैलालीको खक्रौला सीमा नाकादेखि कञ्चनपुरको ब्रम्ह्देव सम्मका १०१ वटा सीमास्तम्भको मर्मत गरेको छ ।

संयुक्त सीमा सर्भे टोलीमा नेपालका तर्फबाट नेतृत्व गर्नुभएका नापी विभागका प्रमुख नापी अधिकृत सुर्दशनसिंह धामीले यो क्षेत्रका थप ३१ वटा सीमास्तम्भ निर्माण गरिएको जानकारी दिनुभयो ।

यो सीमा क्षेत्रमा पर्ने ६५९ वटा सीमा स्तम्भको रेकी कार्य गरी निर्माण र मरमत सम्पन्न गरिएको ४ नं सीमा सर्भे टोलीका प्रमुख धामीले बताउनुभयो । कैलाली जिल्लाको शुरुवातको विन्दु खक्रौलास्थित ७०० नम्बरको सीमास्तम्भदेखि कञ्चनपुरको ब्रम्ह्देव नजिकको सीमाको ८११ नम्बर सम्मका सीमास्तम्भको अवस्था, भत्के बिग्रेका फेला पारेको पाइएमा तीनको निर्माण गर्ने अधिकार सर्भे टोलीलाई दिइएको थयो ।

कैलाली जिल्लाको भजनी नजिकको मारियाघाट र धनगढी उपमहानगरको फूलबारी सीमा क्षेत्रमा स्थानीयवासी बासिन्दाले आफ्नो भोगचलनको जग्गामा सीमा स्तम्भ निर्माण गर्न नदिने भन्दै विवाद गरेपछि यी दुबै ठाउँमा निर्माण हुनुपर्ने सातवटा सीमास्तम्भको निर्माण हुन नसकेको जनाइएको छ ।

विवादित क्षेत्रका सीमा स्तम्भको बारेमा भने टोलीले आ–आफ्नो देशको माथिल्लो निकायमा जानकारी गराएको बताइएको छ ।

नेपालका तर्फवाट नापी विभागको प्रमुख नापी अधिकृत धामी र भारतको तर्फबाट देहरादुन नापी कार्यालयका प्रमुख आरसि भट्टको नेतृत्वको टोलीले गएको मंसिरदेखि भारतसँग सीमा जोडिएको कैलालीको पूर्वी खक्रौला सीमा नाकादेखि कञ्चनपुरको पुरानो सीमा बजार ब्रम्ह्देव नाकासम्मका सीमास्तम्भको रेकी कार्य गरी निर्माण र मर्मत गरेको हो ।

‘दुबै देशको टोलीले संयुक्त रुपमा सर्भेको काम गरेको हो, धामीले भन्नुभयो, “मारियाघाट र फूलबारी बाहेकका क्षेत्रमा सीमास्तम्भको निर्माण मर्मतमा दुबै देशका नागरिकबाट सहयोग मिलेको थियो ।”

यस टोललाई ७ नं प्रदेशका कैलाली र कञ्चनपुरबाहेक, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लामा पर्ने नेपाल–भारत सीमास्तम्भको पनि सर्भेसम्बन्धी काम गर्ने अधिकार दिइएको छ ।

यसैबीच आज यहाँ भएको दुबै देशका सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारी र सीमा सर्भे टोलीका प्रमुखको संयुक्त बैठकमा सीमा सर्भेसम्बन्धी कार्य प्रगतिको समीक्षा गरिएको छ ।

बैठकमा सीमा क्षेत्रमा देखिने विवादको समाधान आपसी समझदारीबाट खोजिनु पर्नेमा दुबै देशका अधिकारी सहमत भएको बैठकपछि कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनुभयो ।

बैठकमा सीमा सर्भे कार्यलाई आगामी दिनमा प्रभावकारी बनाएर लैजान दुबै पक्ष एकमत भएको प्रजिअ तिवारीले बताउनुभयो । बैठकमा नेपालको तर्फबाट कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र भारतको तर्फबाट खिरी, पिलिभित, चम्पावत् र उदमसिंनगर जिल्लाका डिष्ट्रिक मजिष्टेड(डिएम), प्रहरी अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij