नुवाकोट, १७ चैत । यहाँ ‘सिन्दूरे जात्रा’को रौनक छाएको छ । जीवित देवता तथा भैरवीदेवी मन्दिरका पुजारी(धामी) हरिमानसिंह डंगोल र उहाँकी जीवनसंगिनी (धमिनी)लाई पुज्ने र मुलुकमा आगामी वर्षमा के हुन्छ भनी गोप्य भविष्यवाणी गर्ने धार्मिक एवं सांस्कृतिक परम्परानुसार शुक्रबारदेखि जात्रा शुरु भएको हो ।
स्थानीयवासीको सहयोगमा नेपाली सेना श्रीनाथ गण देवीघाटले शुक्रबार राति बूढीदेवीको स्थल र भैरवीदेवी मन्दिर परिसरमा लिंगो उठाएको छ । ‘भैरवी वर्षबन्धन’ अन्तर्गत लिंगो उठाइएसँगै विदुर नगरपालिका–२ मा अवस्थित भैरवीदेवी मन्दिरको रथसहित धामी, धमिनीलगायतको टोली आज अपराह्न विदुर–५ देवीघाटस्थित जालपादेवी मन्दिरमा प्रस्थान गर्ने नुवाकोट दरबार मौला अमालका द्वारे महेन्द्रकुमार शाहीले जानकारी दिनुभयो ।
“भैरवीदेवी मन्दिर र देवीघाटमा रहेको जालपादेवी मन्दिरलाई दिदीबहिनीबीचको सम्बन्धका रुपमा हरेक वर्ष यो अवसरमा भेट गराइन्छ”, शाहीले भन्नुभयो “जीवित देवताका रुपमा पुजिने धामीले आगामी वर्ष राष्ट्रमा के हुन्छ भन्ने गोप्य भविष्यवाणी गर्ने र त्यो राष्ट्रप्रमुखसमक्ष पठाइने भएकाले यसको राष्ट्रिय महत्व छ ।”