काठमाडौं, चैत १४—शिवम् सिमेन्ट लिमिटेडले जारी पूँजीको १२ प्रतिशत साधारण सेयर निष्काशन तथा बिक्री गर्ने भएको छ । स्थानीय वासिन्दाका लागि २ प्रतिशत तथा सर्वसाधारणका लागि १० प्रतिशत आइपिओ बिक्री गर्ने लागेको कम्पनीले जानकारी दिएको छ ।
शिबम् सिमेन्ट सर्वसाधारणलाई पनि सेयर दिने पहिलो कम्पनी हुने भएको छ । यसअघि कुनै पनि सिमेन्टले सेयर निष्काशन तथा विक्री गरेका छैनन् ।
धितोपत्र बोर्डले गत वर्ष वास्तविक लगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्काशन गर्न पाउने व्यवस्था गरेपछि शिवम्ले पनि आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो ।
गत पुस २५ गते सम्पन्न कम्पनीको दोस्रो वार्षिक साधारणसभाले साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।
सर्वसाधारणलाई सेयर जारी गर्न कम्पनीले चैत ६ गते निवेदन दर्ता गराएको धितोपत्र बोर्डले जनाएको छ । कम्पनीको उक्त साधारण सेयर निष्काशन विक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्ने भएको छ ।
शिवम् सिमेन्टले ४ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको १२ प्रतिशत हुन आउने ५२ करोड ८० लाख रुपैयाँ बराबरको ५२ लाख ८० हजार कित्ता सेयर सर्वसाधारण र उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि समेत निष्कासन गर्न लागेको हो । जसमध्ये ८ लाख ८० हजार कित्ता उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि तथा ४४ लाख कित्ता सर्वसाधारणमा जारी हुनेछ ।
चीनको होङसी सिमेन्ट ग्रुपसँग साझेदारी रहेको शिवम् सिमेन्टको उद्योग मकवानपुरको हेटौँडामा रहेको छ । सो उद्योगबाट दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।