२०८३ साउन ९ शनिबार

कागजी दाना उद्योग बनाएर करोडौँ राजस्व छली

ई आर्थिक    शुक्रबार, चैत्र २ २०७४
8.7K
Shares
कागजी दाना उद्योग बनाएर करोडौँ राजस्व छली
गणेश लम्साल, विराटनगर । अस्तित्वमै नभएको दाना उद्योगले १ अर्ब रुपैयाँबराबरको कृषिजन्य सामग्री आयात गरेर करोडौँ रुपैयाँ भन्सार राजस्व छली गरेको खुलासा भएको छ । विराटनगर भन्सारबाट पुस १४ मा जाँच पास भएको एक दाना उद्योगको कच्चा पदार्थ (मकै) बोकेका दुई ट्रकलाई राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय पथलैयाले नियन्त्रणमा लिएर अनुसन्धान थालेपछि राजस्व छली सार्वजनिक भएको हो ।

अधिक नाफाका लागि नक्कली काम
सरकारले भारतबाट आयात गरिएका कृषिजन्य सामग्रीमा ५ प्रतिशत भन्सार कर र भ्याट लगाउने गरेको छ । तर, दाना उद्योगलाई भने भ्याट छुट दिनुका साथै भन्सारमा १ दशमलव ६ प्रतिशत मात्र भन्सार महसुल तोकेको छ । यसरी ५ रुपैयाँ भन्सार तिर्नुपर्ने भएमा दाना उद्योगले भने १ रुपैयाँ ६० पैसा मात्रै राजस्व तिरे पुग्छ । नेपाल सरकारको यही नीतिको फाइदा उठाउँदै व्यवसायीले अधिक मुनाफा कमाउन फर्जी दाना उद्योगमार्फत मकै, तोरी, भटमासलगायत कृषि उपज आयात गर्ने गरेको भेटिएको हो ।

धादिङ दाना उद्योगका नाममा अर्बौंको कारोबार
राजस्वको अनुसन्धानका अनुसार ललितपुरको लाली भन्ने स्थानमा रहेको दाना उद्योग ‘धादिङ दाना उद्योग’का नाममा विराटनगर, वीरगन्ज, भैरहवा र नेपालगन्ज भन्सारबाट करिब १ अर्ब रुपैयाँबराबरको कृषिजन्य वस्तु जाँचपास गराएर नेपालमा आयात गरेको पाइएको छ । यसरी कागजमा मात्र अस्तित्वमा रहेको उद्योगका नाममा आयात गरिएका कृषिजन्य सामग्री कहाँ जान्छन् भन्ने खोजी भइरहेको छ । धादिङ दाना उद्योगले विराटनगर भन्सारबाट मात्र आर्थिक वर्ष ०७३-७४ माघदेखि ०७४-७५ को माघसम्म ५० पटक करोडौँ मूल्यबराबरको लाखाैँ केजी मकै आयात गरेको पाइएको छ ।

यसरी खुल्यो रहस्य
पुस १४ गते विराटनगरका भन्सार एजेन्ट कृष्ण थापा र चेतनाथ पौडेलले धादिङ दाना उद्योगका नाममा दुई ट्रक मकै जाँचपास गराएका थिए । उनीहरूले १४ पुसमा ३ लाख ३८ हजार मूल्यबराबरको १३ हजार ३ सय केजी र ५ लाख ६६ हजार मूल्यबराबरको २१ हजार २ सय केजी मकै दुईवटा ट्रकमा विराटनगर भन्सारबाट जाँच पास गराएका थिए । सो मकै आयात गर्ने धनीहरू विराटनगरका सुनील शाह र भारत उत्तर प्रदेशका लोकेश तिवारी तथा भारत कटिहारका विजय गुप्ता हुन् । उनीहरूले नै वीरगन्ज, भैरहवा र नेपालगन्ज भन्सार नाकाबाट सो उद्योगका नाममा राजस्व छुटमा कृषि उपज आयात गर्ने गरेको अनुसन्धानका क्रममा पाइएको छ । पथलैया राजस्वले गत पुसमा नियन्त्रण लिएका दुई ट्रक मकै लिलामी प्रक्रियामा लगेको छ ।

अनुसन्धान जारी भन्दै घटना सार्वजनिक भएन
घटनाको विस्तृत अनुसन्धान गरिरहेको पथलैया राजस्व कार्यालयले अनुसन्धान जारी रहेको भन्दै घटनालाई बाहिर ल्याउन चाहेको छैन । राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय पथलैयाका प्रमुख दिव्यराज पोखरेलले भने, ‘अझै अनुसन्धानमै छौँ, पूरा भएपछि सबै सार्वजनिक गर्छौं ।’

हरेक वर्ष ३ अर्बको मकै आयात
विराटनगर भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष ०७३-७४ मा विभिन्न दाना कम्पनीले करिब २ अर्ब ६२ करोड ९९ लाख मूल्यबराबरको पौने ९ करोड केजी मकै आयात गरेका छन् । त्यस्तै, चालू आर्थिक वर्ष ०७४-७५ को माघसम्म २ अर्ब ३५ करोड १० लाख ९७ हजार मूल्यबराबरको मकै आयात भइसकेको छ ।

दाना उद्योगमा राजस्व र अख्तियारको चासो
धादिङ दाना उद्योगका नाममा करोडौँ रुपैयाँ भन्सार छली भएको खुलेपछि राजस्व अनुसन्धान र अख्तियारले दाना उद्योगमाथि निगरानी बढाउन थालेको छ । स्रोतका अनुसार दानाका लागि कच्चा पदार्थ आयात हुने भन्सारको रेकर्ड रुजु गर्ने काम भइरहेको छ । उद्योग नै स्थापना नगरी कागजी उद्योग खोलेर कृषि उपज आयात गर्ने थप उद्योग फेला पर्न सक्ने आशंका गरिएको छ । अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘हामी धमाधम रुजु प्रक्रियामा छौँ, धनीहरू फरार होलान् भनेर अहिले नाम सार्वजनिक गर्न चाहँदैनौँ ।’ नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij