निसानको अनुसन्धान केन्द्रमा, दर्जनौं विद्युतीय कारहरू चार्ज गर्नका लागि लाइनमा हुन्छन् तर ती कार विद्युत्बाट चार्ज मात्रै भएका छैनन्, विद्युत् फिर्ता पनि दिइरहेका छन्, बेलायतले सन् २०३० मा आवश्यक पर्ने विद्युत्को लेखाजोखा थाल्यो
फाल्गुन २०, २०७४, लन्डन — विश्वभर अहिले एक अर्बभन्दा बढी सवारी रहेको अनुमान छ । र, यीमध्ये अधिकांश पेट्रोल र डिजेलबाट चल्नेछन् तर अहिले अवस्था परिवर्तन भइरहेको छ ।
विश्वभरका उत्पादकहरू अहिले विशुद्ध इलेक्ट्रिक वा हाइब्रिड (विद्युत् र पेट्रोल वा डिजेल दुवैबाट चल्ने) कार बनाउन धमाधम लगानी गरिरहेका छन् । उनीहरूको यो लगानीको अर्थ पनि छ किनकि डिजेल र पेट्रोलबाट चल्ने सवारीले प्रदूषण बढाएको
भन्दै विश्वका केही देशले भविष्यमा यिनलाई प्रतिबन्ध गर्नुपर्ने धारणा सार्वजनिक गर्न थालेका छन् । यी देशको सूचीमा बेलायत र फ्रान्स पनि छन् ।
तत्कालै पेट्रोल र डिजेलबाट चल्ने गाडीलाई विद्युतीय विकल्पले विस्थापित गर्न त सम्भव छैन तर यसका जानकारहरू के कुरामा सहमत छन् भने अबको केही वर्ष विद्युतीय सवारीको निर्माण र बिक्री दुवैमा उल्लेख्य वृद्धि हुनेछ ।
तर, विद्युतीय सवारीका लागि चाहिने विद्युत् कसरी व्यवस्थापन गर्ने ? बेलायतले भने भविष्यमा वृद्धि हुने विद्युतीय सवारीका लागि कति विद्युत् चाहिन्छ भनेर अनुमान गर्न थालेको छ । बेलायती नेसनल ग्रिडका अनुसार त्यहाँ सन् २०३० सम्ममा ९० लाख विद्युतीय सवारी हुनेछन् ।
विद्युतीय सवारीको संख्यासँगै विद्युत्को मागमा उल्लेख्य वृद्धि हुनुपर्ने हो तर त्यसो हुने छैन । तर, बेलायती नेसनल ग्रिडको अनुमान छ भविष्यमा स्थापना हुने स्मार्ट चार्जिङ प्रणालीले विद्युत्को खपतलाईव्यवस्थित गर्नेछ ।
बेलायतमा चार्जर कम्पनीले पनि यसका लागि तयारी थालेको छ । उनीहरूले यस्तो स्मार्ट चार्जर बनाइरहेका छन् जसले पिक आवरमा सवारीलाई चार्ज गर्नेछैन बरु फरक–फरक समयमा गाडी चार्ज गर्दा फरक–फरक शुल्क निर्धारण गर्नेछ । यसो गर्दा, एकै समयमा विद्युत्को धेरै माग नहुने अनुमान छ ।
कार उत्पादक कम्पनी निसानको योजना भने फरक छ । निसानको अनुसन्धान केन्द्रमा दर्जनौं विद्युतीय कारहरू चार्ज गर्नका लागि लाइनमा हुन्छन् तर ती कार विद्युत्बाट चार्ज मात्रै भएका छैनन्, विद्युत् फिर्ता पनि दिइरहेका छन् । कम्पनीले यो प्रणालीलाई भइकल टु ग्रिड (भीटुजी) नाम दिएको छ ।
जापानी कम्पनी निसानले इटालियन कम्पनी इनेलसँगको सहकार्यमा यस्तो खालको प्रणालीको परीक्षण गरेको हो । यसको परीक्षण अहिले डेनमार्कमा पनि भइरहेको छ ।
यो योजनामा काम गरेका इन्जिनियर मारिया लाउरा कोरालिनी भन्छन्— हामीले कारका लागि चक्कासहितको ब्याट्री बनाउनेछौं ।
यो प्रणालीमा ग्रिडले आवश्यक परेको बेला हरेक कारबाट केही मात्रामा ऊर्जा लिन सक्छ । कारधनीले ग्रिड चार्ज गरिदिएबापत पैसा पनि पाउँछ । यसको हिसाब गर्ने सफ्टवयर पनि विकास गरेका छन्, उनीहरूले । धेरै कारहरूबाट थोरैथोरै ऊर्जा ग्रिडमा पठाउँदा धेरै ऊर्जा जम्मा हुने उनीहरूको दाबी छ । इन्जिनियर कोरालिनी यसलाई भर्चुअल पावर स्टेसन भन्न रुचाउँछन् ।
यो जटिल खालको प्रणाली हो र निसानले यसलाई केही समयदेखि बेलायतमा पनि परीक्षण गरिरहेको छ । निसानले अहिले यो प्रणाली परीक्षण गरिरहेको भए पनि उसको योजना भविष्यमा यसलाई व्यावसायिक रूपमा बिक्री गर्नु हो । उनीहरूले यही प्रणालीको सानो स्वरूप पनि बनाउँदै छन्, जुन घरमा पनि राख्न सकियोस् ।
तर, यस्तै खालका प्रणालीमा अनुसन्धान गरिरहेका अरू भने निसानको योजनामा सहमत छैनन् । एलन मस्कको कम्पनी टेस्लाका प्रमुख प्राविधिक अधिकृत जेबी स्ट्रबेल मूल्य र अन्य प्राविधिक जटिलताका कारण यस्तो प्रणाली व्यावसायिक रूपमा काम नलाग्ने विचार राख्छन् ।
केही विज्ञहरू भने भीटुजीका कारण कारको ब्याट्रीको आयु १० प्रतिशतले बढ्ने मत पनि राख्छन् । भर्खरै, बेलायतको एक विश्वविद्यालयका विद्यार्थीहरूले परीक्षण गर्दै यसको पुष्टि गरेका छन् । यसका पक्षधरहरूको मत छ, यस्तो खालको प्रणालीले विद्युत्को माग र आपूर्तिको व्यवस्थापन गर्न सहयोग गर्छ ।
भीटुजी प्रणालीको विकासले नवीकरणीय ऊर्जाको विकासमा सघाउने उनीहरूको तर्क छ । जस्तै : सोलारबाट निकालिएको ऊर्जाले कारको ब्याट्री चार्ज गर्नेछ र सिञ्चित ऊर्जा कारबाट ग्रिडमा पठाउन सकिन्छ ।
यस्तो खालको चार्जिङ प्रणाली ठूला पार्किङहरूमा राखेर मानिसले फुर्सदको बेला आफ्नो कारको ऊर्जा ग्रिडमा पठाउन सक्छन् । एजेन्सी