फाल्गुन २०, २०७४, लन्डन — क्रिप्टोकरेन्सीका कारण अर्थतन्त्र जोखिममा पर्ने संकेत देखिएका भन्दै बैंक अफ इङ्ल्यान्डका गभर्नर मार्क कार्नीले यसलाई नियमन गर्नुपर्ने जरुरी भइसकेको बताएका छन् ।
उनले आर्थिक प्रणालीकोअन्य पक्षलाई जस्तै क्रिप्टोकरेन्सीलाई नियमन गर्नुपर्ने बताए । उनले धेरैभन्दा धेरै मानिसले यस्ता करेन्सीमा लगानी गर्न थाले अर्थतन्त्रलाई जोखिम हुन सक्ने धारणा राखेका छन् । लन्डनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले क्रिप्टोकरेन्सीमा गरिएको लगानी गलत कामका लागि प्रयोग हुन सक्ने चिन्ता पनि व्यक्त गरे ।कार्नी बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सीलाई बन्द गर्नुपर्छ भन्ने पक्षमा भने छैनन् । उनले अहिलेसम्म क्रिप्टो करेन्सीलाई परम्परागत कारोबार प्रणालीलाई कुनै असर नगरेको बताए ।
सन् २०१७ को सुरुवातमा एक हजार डलर रहेको बिटक्वानको मूल्य बढेर एकै वर्षमा २० हजार डलरसम्म पुगेको छ । अहिले घटेको यसको मूल्य बिस्तारै उकालो लाग्ने संकेत गरेको छ ।
जी टान्टी समूहका अर्थमन्त्री र गभर्नरहरू दुई सातापछि ब्युनर्स आयर्समा एक छलफलमा सहभागी हुँदै छन् । कार्नीको यो भनाइले उक्त छलफलमा पनि क्रिप्टोकरेन्सीको एजेन्डामा छलफल हुने संकेत गरेको छ । कार्नीले नियमन गर्दा पनि सबै देशको एकै खाले नीति आवश्यक रहेको औंल्याए । भर्खरै मात्र चीनले बिटक्वाइन कारोबारमा प्रतिबन्ध लगाएको छ । चीनसहित नेपाल, बंगलादेश, इन्डोनेसियाजस्ता देशले पनि यसको कारोबारमा प्रतिबन्ध लगाएको छ । भारतले पनि बिटक्वाइनको जोखिमबारे सचेत गराउँदै आएको छ ।
तर, कोर्नीले यिनलाई प्रतिबन्ध गर्नुसट्टा यिनले उपयोग गरेको ब्लक चेन प्रविधिलाई बैंकहरूले पनि अँगाल्नुपर्ने बताए । सँगै, उनले क्रिप्टो करेन्सीको कारोबारलाई नियमन नगरे यसले सम्पत्ति शुद्धीकरणमा समस्या ल्याउने र यस्ता सम्पत्तिको प्रयोग अवैध गतिविधिका लागि हुन सक्ने सम्भावना व्यक्त गरे । क्रिप्टो करेन्सी बिटक्वाइनले प्रयोग गर्ने ब्लकचेन प्रविधिलाई कारोबारको सबैभन्दा सुरक्षित तरिका मानिन्छ जसमा ठगी गर्न असम्भव छ । यसैकारण ब्लक चेन प्रविधिले भविष्यमा बैंकिङ कारोबारमा सघाउने विश्वास छ । एजेन्सी