फणि महत, चन्द्रपुर : रौतहटको चन्द्रपुर –३ गैँडाटारका किसानले लगाएको हाइब्रिड मकैको घोगामा दाना नलागेपछि किसान चिन्तित छन् । किसानले बीउ उत्पादनगर्ने कम्पनीलाई कारबाही गरी क्षतिपूर्ती दिलाउन सरकारसँग माग समेत गरेका छन् ।
गएको कात्तिक पहिलो साता रोपेको बन्नी जातको मकैमा घोगा लागेपनि दाना छैन । कात्तिकमा रोपेर चैत्रमा मकै भित्र्याउने र आम्दानी लिने सोचमा रहेका गैँडाटारका तीन सय बढी किसान मकैको घाेगामा दाना नलागेपछि उनीहरु निराश छन् ।
गतवर्ष बन्नी जातको मकै लगाउँदा राम्रो आम्दानी लिएका किसानले यसवर्ष पनि सोहि जातको मकै लगाएका थिए । एकहजार बिगाहा भन्दाबढी जमिनमा बन्नी जातको मकै खेती गरिएको छ । सोही जातको मकैमा यसपाली ठूला घोगा लागेपनि दाना छैन ।
बैंकबाट ऋण लिएर मकै खेती गरेका किसानहरु कसरी बैंकको व्याज तिर्ने भन्ने चिन्तामा छन् । भारतको हैदरावादमा उत्पादन भएको बन्नी जातको मकैको बीउ किसानले चन्द्रनिगाहपुरमा रहेका विभिन्न पसलबाट प्रतिकिलो ६ सय ५० मा खरीद गरेर रोपेका थिए ।
नेपाल सरकारले प्रमाणित गरेको बीउ लगाउँदा नफलेपछि सरकारी निकायले क्षतिपूर्ती दिलाउन पहल गर्नुपर्ने उनीहरुको माग छ । गैँडाटारमा यसबर्ष मकैमा दाना नलागेपछि करौडांको क्षति भएको वडा सदस्य सरस्वती खुलालले बताइन् । अन्नपूर्ण पोष्टबाट