काठमाडौं । देशले अन्तरिम व्यवस्था पार गरी नयाँ संविधानतः नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार प्राप्त गरेकोमा नेपाल उद्योग परिसंघ अत्यन्त उत्साहित बनेको छ ।
देशले गर्नु पर्ने सम्पूर्ण राजनैतिक परिवर्तनहरु सम्पन्न गरी बनेको नयाँ सरकारले अब आर्थिक परिवर्तन तथा सम्वृद्धिलाई आफ्नो लक्ष बनाउने अपेक्षा परिसंघले लिएको छ ।
नेपालको राजनीतिक पुनःसंरचनालाई संस्थागत गर्दै तिन वटै तहका निर्वाचन सम्पन्न भई स्थानीय तहमा सरकार गठन भई कार्य सम्पादन प्रारम्भ भई सकेको छ । प्रदेश तहमा समेत नयाँ सरकार गठनको प्रकृया प्रारम्भ भई सकेको छ । सबै प्रदेशमा सरकार गठनको प्रक्रिया क्रमशः पूरा गरी देशले दीगो, शान्ति र सम्वृद्धिको अपेक्षा गरिरहेको बेला प्रधानमन्त्री ओलीको नेतृत्वमा बनेको नयाँ सरकारले अबको बाटो आर्थिक रुपान्तरणको हुनु पर्ने विषयलाई आत्मसात गरी आर्थिक समृद्धिको एजेण्डालाई नै प्राथमिकतामा राख्ने छ भन्ने विश्वास परिसंघले लिएको छ ।
नेपालले २०१३ सालदेखिनै योजनाबद्ध आर्थिक विकासको थालनी गरेपनि मुलुक अझै अतिकम् विकसित राष्ट्रहरुकै समूहमा रहेको छ । गरिवी, बेरोजगारी, न्यून आर्थिक वृद्धिदर, उच्च मुद्रास्फीति, कहालिलाग्दो व्यापार घाटा, पूर्वाधारको कमजोर अवस्था र पूँजीगत खर्चको घट्दो क्रमले अर्थव्यवस्थामा संरचनात्मक समस्या देखा पर्दै गरेका छन् । यी यावत समस्यालाई सम्बोधन गर्दै यो सरकारले औद्योगिक लगानी प्रवद्र्धनको साथै रोजगारी श्रृजनामा सुनिश्चित वातावरण कायम गरी मुलुकमा औद्योगिक क्रान्ति, पूर्वाधार विकास तथा सुशासनको पूर्ण प्रत्याभूती दिने विश्वास परिसंघको छ ।
विकासको बाटोमा मुलुकलाई लग्नको लागि विकासको मार्ग चित्र कोर्न सरकारसँग निजी क्षेत्र सहकार्य गर्न उत्सुक छ । अर्थतन्त्रलाई सबल, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउन आर्थिक एजेण्डालाई पहिलो प्राथमिकता दिदै निजी क्षेत्रलाई विश्वासमा लिएर आर्थिक पुनः निर्माणको महाअभियान संचालन गर्ने कार्यमा नवगठित सरकारको पूर्ण सफलताको शुभकामना समेत परिसंघले व्यक्त गरेको छ ।