काठमाडौं माघ १, २०७४ । रसुवागढी नाका आजदेखि एक हप्ताको लागि बन्द हुने भएको छ । चिनियाँ सरकारले आगामी बिहिबार पर्ने सानो ल्होसारको समयमा बिदा दिदा केरुङमा चिनियाँ भन्सारले कन्टेनरमा शिल नगर्ने भएपछि सो नाका ठप्प भएको हो ।
सो अवधिभर भन्सारबाट सामान आयत रोकिने भएको छ ।
सामान लिन केरुङ पुगेका कन्टेनरमा चिनियाँ भन्सार अधिकारीहरुले हिजोसम्म शिल लगाएको रसुवागढी नाका कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार हिजो शिल लगाइएका कन्टेनर आज साँझसम्म रसुवागढी आइसक्नेछन् । सामान आयात रोकिए पनि पर्यटक बोक्ने सवारी र नागरिकलाई आवतजावत गर्न समस्या नपर्ने सो कार्यालयले जानकारी दिएको छ । भन्सारको कन्टेनरमा शिल नलगाउने भएपछि व्यावसायी नेपाल फर्कने थालेका छन् । केरुङमा अहिले करिब ३ सय जति खालि कन्टेर रहेको निर्यात व्यवसायीहरुले जानकारी दिएका छन् । केरुङ पुग्ने सडकमा बेलाबेलमा हुने हिमपातका कारण माथिबाटै सामान ल्याउने गाडि पनि कम हुँदै गएको छ । केरुङ जाने तयारीमा रहेका कन्टेनर पनि जिल्लाको बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रु र टिमुरेमा रोकिएका छन् ।