इरानमा मूल्यवृद्धिको विरोधमा सुरु भएको प्रदर्शन देशको शासकीय प्रणालीविरुद्ध केन्द्रित भएको हो । प्रदर्शनकारीले इरानी सर्वोच्च नेता अयातुल्लाह अली खामेनी, राष्ट्रपति हसन रुहानीविरुद्ध प्रदर्शन गरिहेका छन् । उनीहरूले इरानले आफ्नोविदेश नीति परिवर्तन गर्नुपर्ने माग गर्दै आएका छन् । १० दिनदेखि जारी प्रदर्शनका क्रममा २२ जनाको मृत्यु भइसकेको छ । यसअघि इरानी सर्वोच्च नेता नेता अयातुल्लाह अली खामेनीले विरोध प्रदर्शनमा ‘इरानका शत्रुराष्ट्र’ को प्रमुख भूमिका भएको बताएका थिए । उनले इरानका शत्रुहरूले मुस्लिम गणतन्त्रमाथि पैसा, हतियार, राजनीति र खुफिया संयन्त्रको प्रयोगले वितण्डा मच्चाइरहेको दाबी गरेका थिए । इरानको रेभोलुसनरी गार्डका प्रमुखले गत बुधबार ‘देशद्रोहीहरू’ परास्त भएको बताएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक प्रदर्शनकारीको पक्षमा कैयौं ट्वीट गर्दै आएका छन् । त्यसको प्रतिक्रियामा रुसले अमेरिकालाई ‘इरानको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप नगर्न’ चेतावनी दिएको थियो । तेल निर्यात गर्ने मुलुकहरूको संगठन ओपेकको प्रमुख राष्ट्र इरान सिरियाली द्वन्द्वमा संलग्न छ । मध्यपूर्वको साउदी अरबको दुश्मन हो । बहुसंख्यक इरानी जनताहरू देशको नेतृत्व विदेशी हस्तक्षेपकारी नीति त्यागेर अर्थतन्त्रको सुदृढीकरण र रोजगारी सिर्जनामा लाग्नुपर्ने बताउने गर्छन् ।
पक्राउ पर्नेमध्ये ९० विद्यार्थी छन् । उनीहरूमध्ये कतिपय प्रदर्शनमा संलग्न नभएको जनाइएको छ । एक सांसद फरिद मौसाभीले थप प्रदर्शन नहोस् भन्ने उद्देश्यले उनीहरूलाई पक्राउ गरेको जनाए । उनले पक्राउ परेकाहरूलाई छिट्टै रिहा गरिने बताए । क्वाजभिन, रास्ट, साहर–ए–कुर्द र याज्डलगायतका सहरमा आइतबार पनि सरकारविरोधी र्याली निकालिएको थियो ।