काठमाडौं । यति एयरलाइन्सले आफूसँग भएको यात्रु सेवाको लागि प्रयोग नहुने बीएई प्रणालीको जेटस्ट्रिम ४१ (सिरियल नं. ४१०१७) लाई भैरहवा स्थित गौतमबुद्ध विमानस्थल अन्तरर्गतको उद्धार तथा अग्नि निवारणको दैनिक अम्यास प्रयोजनार्थ हस्तान्तरण गरिएको छ ।
नागरिक उड्डयन प्राधिकरण नेपालले उक्त विमानलाई अग्नि नियन्त्रण तथा आकस्मिक उद्धार तालिमको लागि प्रयोग गर्ने बताईएको छ । यस्ता विमान प्रयोग गरि प्रदान गरिने तालिमले नेपालका नागरिक उड्डयन क्षेत्रका सरोकारवाला तथा यात्रुहरुलाई फाइदा पुग्नेमा यति एयरलाइन्स विश्वस्त छ ।

विमान हस्तान्तरण एक औपचारिक कार्यक्रमका गरिएको थियो । यति एयरलाइन्सका ग्राउण्ड ह्याण्डलिङ्ग मेनेजर अंकुर जंग राणाले गौतमबुद्ध विमानस्थल ना.उ. कार्यालयका प्रमुख शिशिल चित्रकारलाई उक्त विमान हस्तान्तरण गर्नुभयो ।

उडान कार्यका अतिरित्त यति एयरलाइन्स देशका नागरिक उड्डयन क्षेत्र तथा समाजको उत्थानका लागि हरदम सक्रिय र प्रतिबद्ध रहेको छ ।
स्मरणीय यो छ कि यस भन्दा पहिले नेपालमा कुनै पनि निजी विमान कम्पनीद्वारा यस्ता विमानहरु सार्वजनिक हितका लागि हस्तान्तरण गरेका थिएनन् ।