काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नारायणप्रसाद भट्टराई नियुक्त हुनु भएको छ । कम्पनी हालै बसेको संचालक समितिको १४२ औं बैठकले उहाँलाई सो पदमा नियुक्त गरिएको हो । २०७४ साल मंसीर ११ गते सोमबार देखि लागू हुने गरी ४ वर्षको लागि नियुक्त नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं महानगरपालिका वडा नं. ४ निवासी भट्टराईले पुने युनिभर्सिटीबाट बीएससी तथा मनिपुर युनिभर्सिटीबाट एमबीए सम्मको शिक्षा हासिल गर्नु भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालमा करिब ९ वर्ष सेवा गरी २०६८ साल मंसीर १ गते गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा सहायक महाप्रबन्धक पदमा नियुक्त हुनु भएका भट्टराई २०७० साल माघ १ गते देखि नायब महाप्रबन्धक पदमा बढुवा हुनु भएको थियो ।
उहाँले आफू कार्यरत अवधिमा कम्पनीको मार्केटिङ्ग विभाग प्रमुख, पुनर्बीमा विभाग प्रमुखको जिम्मेबारी कुशलतापुर्वक निर्वाह गरिसक्नु भएका छ । उहाँले सो अवधिमा धेरै पटक कम्पनीको कायम मुकायम प्रमुख भई कार्य समेत गरिसक्नु भएको छ ।
कम्पनीले हालै मात्र राष्ट्रिय स्तरको उत्कृष्ट अभिकर्ता तथा अभिकर्ता संयोजक भेलामा आफ्नो लागि, आफ्नो बुढेशकालको लागि तथा आफ्नो सन्ततिको लागि उपयुक्त रहेकोे ‘गुराँस सुरक्षित भविष्य जीवन बीमा योजना’ सार्वजानिक गरेको छ । कम्पनीले आफ्नो स्थापनाकाल देखि नै विभिन्न किसिमका बीमितहरुको चाहना बमोजिम जीवन बीमा योजना ल्याउँदै नेपाल राज्य भर ७ वटा क्षेत्रीय कार्यालय, २० वटा शाखा कार्यालय, ३६ वटा उपशाखा कार्यालय तथा ३ वटा एक्सटेन्सन कार्यालयमार्फत जीवन सेवा प्रदान गरिरहेको यस कम्पनीले आफनो अभिकर्ता सञ्जालमार्फत नेपाल राज्यभर बीमा सेवा पुर्याइरहेको छ ।
यस कम्पनीले नेपाल राज्य भर सस्तो, सुलभ तथा भरपर्दो जीवन बीमा सेवा पुर्याउने तयारी गरेको छ । जीवन बीमा क्षेत्रमा लामो अनुभव संगाल्नु भएका प्रमुख कार्यकारी अधिकृत भट्टराईको नेतृत्वमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले नेपालको बीमा क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाउँदै अगाडी बढ्ने विश्वास लिइएको छ ।