उद्योग व्यापार संगठन रुपन्देही शाखाले भैरहवामा आयोजना गरेको चौथो राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा हिजो आयोजित व्यापारसम्बन्धी अन्तरक्रियामा उनीहरुले व्यवसाय दर्ता र नवीकरण, भन्सार र वाणिज्य नीति ज्यादै झण्झटिलो भएकाले त्यसलाई परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।कैयौँ सामान भारतीय बजारमा भन्दा नेपाली बजारमै सस्तो र गुणस्तरीय हुँदाहुँदै उपभोक्ता भ्रममा परेर सीमापारि गएर खरिद गर्ने परिपाटी रहेकाले यस्तो परिपाटीको अन्त्यका लागि प्रभावकारी नीति बनाउनुपर्नेमा पनि उनीहरूले जोड दिएका थिए ।
वाणिज्य कार्यालयका प्रमुख वेदप्रकाश उपाध्यायले दर्ता, नवीकरण र जरिवानासम्बन्धी सरकारी नीति नियममा रहेका अव्यवहारिक नीति र झमेलाले व्यवसायी निरुत्साहित हुने गरेको स्वीकार्दै कमीकमजोरी सच्याउन जरुरी रहेको बताउनुभयो ।
उहाँले भारतसँगको खुला सीमाका कारण घरायसी प्रयोजनका नाममा पनि ठूलो परिमाणका सामान बिना भन्सार भित्रिने गर्दा स्वदेशी व्यवसायी सधैँ मारमा परेको बताउँदै खुला सीमा व्यवस्थित गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले गौतमबुद्ध विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी र बेलहिया नाकाका कारण भैरहवा क्षेत्र व्यापारिक केन्द्र बन्न सक्ने आधार रहे पनि सरकारी नीति व्यवसायीमैत्री नहुँदा व्यवसाय फस्टाउन नसकेको गुनासो गर्नुभयो ।
उद्योग व्यापार संगठन जिल्लाअध्यक्ष नारायणप्रसाद भण्डारीले चिनीलगायत एकाध वस्तु सस्तो पाइने लोभमा नेपाली उपभोक्ता ठूलो संख्यामा सीमा पारी गएर नेपालमै सस्तो पाइने दर्जनौँ वस्तु खरिद गरेर ल्याउने परिपाटी रोक्न सरकारले बाध्यकारी नीति बनाउनुपर्ने र संक्षिप्त प्रज्ञापनपत्रलाई कडाइका साथ लागू गर्नुपर्ने उल्लेख गर्नुभयो ।
संगठनका उपाध्यक्ष गिरिश त्रिपाठीले व्यवसायीमाथि लगाइने जरिवाना रकम व्यवसायीको ढाड सेक्ने खालको भएकाले घटाउन र अनुगमनका नाममा अनावश्यक दुःख नदिन माग गर्नुभयो । उहाँले बैंकले लिने चर्को ब्याजदर पनि एक प्रकारको कालोबजारी नै भएकाले उद्योग व्यवसायमा सुलभ दरमा कर्जा दिन माग गर्नुभयो ।
राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि औद्योगीकरण तथा व्यापार विविधकरण नारासहित उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा सञ्चालित चौथो राष्ट्रिय औद्योगिक व्यापार मेलामा व्यापार, उद्योग, कृषि र पर्यटनका करिब ४०० स्टल रहेका छन् ।
मंसिर ११ गतेसम्म चल्ने मेलामा लोपोन्मुख राउटे जाति, उट नाच, कुस्ती खेल, नयाँ उत्पादन, प्रविधि, बाल उद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, कृषि प्याभिलियन, अटोमोबाइल्स प्याभिलियन, सूचना प्रविधि प्याभिलियन आदिका कक्ष छन् । रासस