काठमाडौं, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधन भएको छ । हृदयघात भएपछि उनलाई आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
उनी विहान ५ बजे अचानक विरामी भएपछि उनलाई नर्भिक अस्पतालमा लगिएको थियो । अस्पताल नपुग्दै उनको निधन भइसकेको अस्पताल श्रोतले जानकारी दिएको छ । यद्यपी त्यसको जानकारी ढिला गराइएको थियो ।
यतिखेर नर्भिकमा उनका आफन्त तथा शुभचिन्तकहरुको घुइचो लाग्न थालेको छ । उनका एक शुभचिन्तकले अस्पतालमा आफन्तहरु शोकाकुल अवस्थामा रहेका जानकारी दिएका छन् ।
प्रकाशको शोकमा चितवनमा चुनाव प्रचारप्रसारका कार्यक्रम स्थगित

यसैबीच प्रकाश दाहालले बाल्यकाल विताएको चितवन उनको मृत्युको खवरसँगै शोकाकुल बनेको छ। चुनावी प्रचार अभियान भइरहँदा प्रकाशको निधनसँगै वाम र लोकतान्त्रिक गठबन्धनले आज चितवनमा सबै चुनावी प्रचारका कार्यक्रम स्थगन गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहालसँग चुनावी प्रतिस्पर्धामा रहको लोकतान्त्रिक गठबन्धनका उम्मेदवार वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले दाहाल परिवारमा परेको पीडाप्रति आफू मर्माहित भएको जनाउँदै आज घरदैलो र चुनावीसभाका सबै कार्यक्रम स्थगन गरिएको बताए । पाण्डेको क्षेत्र नं ३ अन्तर्गत भरतपुर महानगरपालिका-२१ को पार्वतीपुर र २६ को दिव्यनगरमा आज घरदैलो र चुनावीसभाका कार्यक्रम थिए । प्रकाशको निधनको खबर पाउनासाथ सबै कार्यक्रम स्थगन गरिएको उनले बताए ।
त्यस्तै वाम गठबन्धनले जिल्लाका तीन वटै क्षेत्रमा आज गर्ने भनेको घरदैलो र चुनावीसभाका कार्यक्रम सबै स्थगन गरिएको माओवादी केन्द्र चितवनका इञ्चार्ज ईश्वरी भट्टराईले बताए । वाम गठबन्धनले यही मङ्सिर ५ गते भरतपुरमा गर्ने भनिएको चुनावीसभा पनि हालका लागि स्थगन गरिएको छ । सो सभालाई माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम थियो ।
प्रकाशको निधनसँगै भरतपुरमा रहेकी प्रकाशकी दिदी भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालसहित जिल्लाका माओवादी नेता र शुभेच्छुक हेलिकप्टर र जहाजमार्फत काठमाडौं गएका छन् । निर्वाचनमा बुबा पुष्पकमल चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बनेपछि बुबासँगै धेरै समय यहीँ रहेकाले प्रकाश चितवनमा राम्ररी परिचित थिए ।