सान्या/एजेन्सी–विश्वको एक सय १८ सुन्दरीलाई पछि पार्दै भारत नयाँ दिल्लीकी २० वर्षीया मानुषी छिल्लरले ‘मिस वर्ल्र्ड २०१७’ को उपाधि जितेकी छिन् ।

६७ औं सँस्करणकी मानुषीले आफ्नो प्रतिभा र प्रस्तुतिसँगै सर्वाधिक भोटका आधारमा मिस वल्र्डको उपाधि जितेकी हुन् । यसअघि भारतबाट प्रियंका चोपडाले सन २००० मा मिस वल्र्डको उपाधि जितेकी थिइन् । मिस वर्ल्र्ड हुने मानुषी छैटौं भारतीय सुन्दरी हुन् ।

चीनको सान्या शहरमा शनिबार साँझ भएको मिस वल्र्ड–२०१७ को फस्ट रनर अपको उपाधि मिस मेक्सिकन आन्द्रेई मेजाले जितेकी छिन् । यस्तै मिस इंग्ल्याण्ड स्टेफनेइ हिलले सेकेन्ड रनरअपको उपाधि हाँसिल गरिन् । उत्कृष्ट पाँचभित्र पर्दै फाइनलमा पुगेका मिस फ्रान्स र मिस केनियाँ क्रमशः चौथो र पाँचौ भए ।

सो प्रतियोगितामा नेपालबाट मिस नेपाल वर्ल्र्ड निकिता चन्दकले सहभागिता जनाएकी थिइन् । उनी प्रतियोगितामा उत्कृष्ट ४० भित्र परेकी थिईन् । उत्कृष्ट १५ का लागि भएको प्रतिस्पर्धामा उनी बाहिरिएकी हुन् । निकिता सो प्रतियोगितामा ३१ औं स्थानमा रहिन् ।