२०८३ साउन ११ सोमबार

शृंखलाबद्ध विस्फोट : चुनावी सुरक्षामा प्रश्न, केहिदिन यता मात्र विस्फोटका ८ घटना

ई आर्थिक    शनिबार, मंसिर २ २०७४
2.4K
Shares
शृंखलाबद्ध विस्फोट : चुनावी सुरक्षामा प्रश्न, केहिदिन यता मात्र विस्फोटका ८ घटना

निर्वाचन सुरक्षामा विप्लव समूहबाट खासै चुनौती नरहेको विश्लेषण गर्दै निगरानी मात्र राख्ने प्रहरी निर्णययता विस्फोटका ८ घटना

 

गृहले निर्वाचन सुरक्षासम्बन्धी यसअघिको एकीकृत सुरक्षा योजना परिमार्जन गरेको थियो । गृहले ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकीकृत सुरक्षा योजना २०७४’ बनाएर कार्यान्वयनमा ल्याएको थियो । यसअघिको स्थानीय तह चुनावजस्तै यसपटक पनि तीनघेरे सुरक्षा योजना छ । मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी रहनेछन् भने दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना । तर, लगातारका उम्मेदवार लक्षित विस्फोटका घटनाले निर्वाचन सुरक्षा योजना कार्यान्वयनमाथि प्रश्न खडा गरिदिएको छ । गृह सचिव मोहनकृष्ण सापकोटाले कान्तिपुरसँग कुरा गर्दै बदलिएको परिस्थितिअनुसार सुरक्षा योजनामा फेरबदल गर्न जिल्ला सुरक्षा समितिलाई अधिकार दिइएको बताए । उनले भने, ‘जिल्लाको सुरक्षा अवस्था हेरेर रणनीति बनाउन हामीले अधिकार दिएका छौं ।’ गृहसचिव सापकोटाले विस्फोटनका पछिल्ला घटनाप्रति मन्त्रालय संवेदनशील भएको र निर्वाचन बिथोल्ने समूहमाथि थप निगरानी बढाइएको बताए ।

मन्त्रालयमा शुक्रबारको नियमित सुरक्षा बैठकले एकपछि अर्को गर्दै विस्फोटका घटना बढेको भन्दै संवेदनशील जिल्लाहरूमा चेकजाँच र खानतलासी बढाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिने निर्णय गरेको छ । गृह प्रवक्ता नारायणप्रसाद शर्माले जिल्लाको सुरक्षा व्यवस्था अत्यन्त सूक्ष्म ढंगले निगरानी गर्न र तत्काल आवश्यक कदम चाल्न निर्देशन दिइएको बताए । विस्फोटका घटना एकपछि अर्को गर्दै बढे पनि गृहले सुरक्षा संवेदनशीलताका हिसाबले कुनै जिल्ला र क्षेत्र छुट्याइएको भने छैन । प्रवक्ता शर्माले भने, ‘कुनै क्षेत्रभन्दा पनि जिल्लाको कुनै भेग र स्थान सुरक्षा दृष्टिले संवेदनशील हुन सक्छन् ।’

प्रहरी प्रवक्ता मनोज न्यौपानेले विस्फोटका शृंखलाबद्ध घटनापछि प्रहरीको सक्रियता बढाइएको बताए । उनले सुरक्षा निकायले संवेदनशील भएर काम गरिरहेको जनाउँदै भने, ‘संवेदनशील ठाउँमा प्रहरीको संख्या बढाएका छौं ।’

प्रहरी स्रोतका अनुसार विप्लव समूहका केन्द्रीयस्तरका अधिकांश नेता भूमिगत छन् । उनीहरूलाई पक्राउ गर्दा राजनीतिक दबाब आउने भयले पक्राउ गर्नेभन्दा पनि निगरानी गर्नेतिर प्रहरी केन्द्रित छ ।

पूर्वएआईजी विज्ञानराज शर्मा चुनावको मुखमा एकपछि अर्को विस्फोटका घटना हुनुलाई सामान्य मान्दैनन् । उनले गृह मन्त्रालयले चुनावी सुरक्षाको रणनीति पुरातन हिसाबले नै बनाएको टिप्पणी गर्दै भने, ‘यस्तो चुनौती आउँछ भन्ने सुरक्षा संयन्त्रले अनुमान नै नगरेको देखियो ।’शर्माले विस्फोटमा संलग्न कहाँ थिए, कसरी तिनीहरूले योजना बनाएका थिए भनेर सुरक्षा संयन्त्रले पत्तो लगाउन नसकेको बताए । उनले भने, ‘विस्फोटका घटना भइरहने, तर त्यसमा संलग्नहरू पक्राउ नपर्ने प्रवृत्तिले यस्ता समूहहरूको मनोबल बढाउँछ ।’शर्माका अनुसार चुनावअघि उम्मेदवार लक्षित गरेर भएका लगातारका विस्फोटका घटनाले चुनावी सुरक्षा रणनीतिमा सरकार चुकेको देखाउँछ । उनका अनुसार कमजोर गुप्तचरी संयन्त्र, सूचना संयन्त्रमा राज्यको कमजोर लगानी र बलियो सुरक्षा योजना अभावमा चुनावी सुरक्षामाथि प्रश्नचिह्न उठिरहेका छन् ।

निर्वाचन सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले ९८ हजार २ सय ६८ म्यादी प्रहरी परिचालन गर्दैछ । त्यस्तै ७२ हजार प्रहरीमध्ये कार्यालयको काममा संलग्नबाहेक बहुसंख्यक प्रहरी निर्वाचन सुरक्षामा खटिनेछन् । सशस्त्र प्रहरीका प्रवक्ता बाबुराम पाण्डेका अनुसार पहिलो चरणको निर्वाचन सुरक्षाका निम्ति १२ हजार र दोस्रो चरणका निम्ति २८ हजार सशस्त्र प्रहरी खटिनेछन् । प्रवक्ता पाण्डेले भने, ‘पछिल्लो समय पश्चिम नेपालमा सुरक्षा थ्रेट बढेको देखिन्छ । त्यसकारण सुरक्षामा खटिने जनशक्ति बढन सक्ने देखिन्छ ।’

अनुसन्धान विभागमा कार्यरत ३ हजारमध्ये झन्डै आधा जनशक्ति सूचना संकलनमा परिचालन हुनेछन् । त्यस्तै, नेपाली सेनाका ९० हजार जनशक्तिमध्ये कति परिचालन हुनेछन् भन्ने सार्वजनिक गरिएको छैन । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij