२०८३ साउन ९ शनिबार

पूर्वसैनिकलाई थुनामा राखी २० लाख घुस माग्ने असर्इ र प्रहरी जवान फन्दामा

ई आर्थिक    बुधबार, कार्तिक १ २०७४
3.7K
Shares
पूर्वसैनिकलाई थुनामा राखी २० लाख घुस माग्ने असर्इ र प्रहरी जवान फन्दामा
 सुवास गोतामे बुधवार, कात्तिक १, २०७४, काठमाडौं : बर्दीको आडमा सजिलै पैसा कमाउन खोज्ने प्रहरी सहायक निरीक्षक (असई) चन्द्रसिंह भाट र प्रहरी जवान पुष्कर शाह यतिबेला अख्तियारको हिरासतमा छन् । आर्थिक लेनदेनको झूटो व्यहोरा देखाएर जबर्जस्ती पीडित खडा गरी एक पूर्वसैनिक हवल्दारबाट पाँच लाख घुस लिएको प्रमाणसहित उनीहरू पक्राउ परेका हुन् ।

धनकुटा घर भई हाल काठमाडौं टोखा बस्दै आएका नेपाली सेनाका अवकाशप्राप्त हवल्दार गंगा देवानलाई झूटो मुद्दा खडा गरेर १५ देखि २० लाख रुपैयाँ असुल्ने दाउमा थिए भाट र शाह । देवानकी पत्नी विनिताले आफूसँग घुस मागेको सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएपछि भाट र शाहको योजना चकनाचुर मात्रै भएन उनीहरू सेवाबाट बर्खास्तीको मुखमा पुगेका छन् । अख्तियारले भाट, शाह, बालुवा डिपो प्रमुख थापा र बालाजु वृत्तका प्रमुख नवीनकृष्ण भण्डारीलाई अनुसन्धानका लागि पक्राउ गरेको छ ।

घटनामा संलग्न महानगरीय प्रहरी प्रभाग फर्पिङमा कार्यरत प्रहरी हवल्दार मनोज यादव भने फरार छन् । अख्तियारको हिरासतमा रहेका थापाले आफ्नो डिपोमा भाटलगायत प्रहरीले लेनदेन गर्ने गरेको र देवानबाट पनि जबर्जस्ती पैसा मागेको बयान दिएका छन् । डीएसपी भण्डारीले भने देवान पक्राउ परेको जानकारी आफूलाई थाहा भए पनि पैसा मागेको विषयमा अनभिज्ञ रहेको बयान अख्तियारलाई दिएका छन् ।

कसरी रचियो प्रपञ्च ?

भारतीय गोर्खा पल्टनमा जागिर खान प्रमाणपत्र बुझाएर फर्किएका युवाको कागजपत्र रुजु गर्ने काम गर्दै आएका थिए गंगा देवान । उक्त जानकारी मनमैजुका विनोद थापाले पाए र असई भाटलाई जानकारी गराए । महानगरीय प्रहरी वृत्त लैनचौर दरबन्दी भएर बालाजु वृत्तमा कार्यरत भाटले उक्त कुरा जवान शाह र हवल्दार मनोज यादवलाई समेत बताएपछि कसरी फसाउन सकिन्छ भनेर प्रपञ्च रच्न थालियो । शाह महानगरीय प्रहरी वृत्त सानोठिमीमा दरबन्दी भएर हाल सानोठिमी बालसुधार गृहमा कार्यरत थिए ।

अख्तियार स्रोतका अनुसार प्रहरी सेवामा कुनै बेला भाट र शाह एउटै कार्यालयमा थिए । भाट र शाहले थापालाई फसाउन नक्कली पीडित खडा गर्न आफन्तलाई पल्टनमा भर्ना गराउने नाममा देवानसँग कागज गराउन सल्लाह लिए । विन्ध्यवासिनी ढुवानी सेवा मनमैजुका सञ्चालकसमेत रहेका थापाले असोज ८ गते देवानको घरमा पुगेर आफ्ना मान्छेलाई पनि पल्टनमा पठाइदिन भन्दै दुई लाखको कागज गराएका थिए ।

भनेको समयमा विदेश पठाउन नसके प्रहरीमा उजुरी दिने भन्दै धम्क्याएका थापाले देवानबाट बनाएको कागज भाट र शाहलाई देखाए । सोही दिन भाट, शाह, यादव र थापाले देवानको कोठामा पुगी खानतलासी गरे । ‘हामी प्रहरी हौं, तपाईं यस्तो ठगीधन्दा गर्ने’ भन्दै देवानलाई घरबाट उठाएर थापाको बालुवा डिपोमा लगि पैसाको बार्गेनिङ सुरु गरे । देवानको कोठाबाट भाटले सीमसहितको मोबाइल, एसबीआई बैंकबाट वितरण भएको एटीएम कार्ड, कार्डको पासवर्ड र नागरिकता कब्जामा लिएका थिए ।

डिपोमा पाँच घन्टा राखेर १५÷२० लाख रुपैयाँ दिएमा छाडिदिने भन्दै देवानलाई पत्नी विनिताको मोबाइलमा फोन गर्न लगाएका भाटले पैसा नदिए कुमार घैंटे र दिनेश अधिकारी चरीको हालत बनाइदिने भनी धम्क्याएका थिए । साँझसम्म पैसा नल्याएपछि भाटले देवानलाई प्रहरी वृत्त बालाजुको हिरासतमा राखेका थिए । पति खोज्दै भौतारिएकी विनिता बालाजु वृत्त पुगिन् । विनितालाई पनि एक घन्टा हिरासतमा थुनेर एक घन्टामा पैसा ल्याउने सर्तमा छाडिएको थियो ।

असोज ८ गते प्रहरी जवान शाहले विनिताको एटीएम कार्डबाट ४० हजार रुपैयाँ झिकेर भोलिपल्ट एटीएम फिर्ता दिएका थिए । असोज ९ गते शाहले विनितालाई फोन गरेर ‘पाँच लाख रुपैयाँ लिएर आएमा पनि कुरा मिल्छ र तपाईंको पति गंगालाई छाडिदिन्छौं’ भनेर फोन गरी बार्गेनिङ गरेका थिए । उक्त सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेपछि अख्तियारको टोलीले भाटकै कार्यकक्षामा पुगी रंगेहात पक्राउ गरेको थियो । तत्कालीन समयमा भाटलाई पक्राउ गरे पनि शाह र थापा पछि मात्रै पक्राउ गरेको थियो ।

पक्राउ पुर्जीविनै थुनामा

असई भाटले कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीनकृष्ण भण्डारीलाई जानकारी नै नदिई पक्राउ पुर्जीविनै देवानलाई थुनेको रहस्य खुलेको छ । कसैलाई पक्राउ गर्नुपरेमा पक्राउ पुर्जी र थुनामा राख्दा थुनुवा पुर्जी दिने कानुनी व्यवस्थालाई लत्याउँदै भाटले देवानलाई थुनामा राखेका थिए । देवानविरुद्ध लिखित उजुरी नै नभई पैसा उठाउने नाउँमा पक्राउ गरी हिरासतमा राख्दा डीएसपी भण्डारी बेखबर थिए ।

पीडित देवानले आफूलाई अपहरण शैलीमा डेराबाट उठाएर प्रहरीले पैसा असुल्न खोजेको बताए । ‘हतकडीसहित आएका प्रहरीले यस्तो ठगी गर्ने भन्दै मोटरसाइकलमा हालेर सुनसान क्षेत्रमा लगी पत्नीलाई फोन गरेर २५ लाख मागे र नदिए मारिदिने धम्कीसमेत दिए,’ देवानले अन्नपूर्णसँग भने, ‘प्रहरीले बर्दीको आडमा यस्तो हर्कत गर्ला भन्ने कल्पनासमेत गरेको थिइनँ ।’ अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij