२०८३ साउन ११ सोमबार

प्रदेश नम्बर २ मा मतदान सुरु, मतदाता बिहानैदेखि लाइनमा

ई आर्थिक    सोमबार, असोज २ २०७४
1.9K
Shares
प्रदेश नम्बर २ मा मतदान सुरु, मतदाता बिहानैदेखि लाइनमा

२ असोज, काठमाडौं । दुइ नम्बर प्रदेश अन्तर्गत मधेसका आठ जिल्लामा निर्वाचन सुरु भएको छ ।

स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश २ मा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदान साँझ ५ बजेसम्म हुनेछ । मतदाताहरु बिहानैदेखि मतदानका लागि लाममा लागेका छन् । निर्वाचनमा सहभागी हुन पाउँदा मतदाताहरु निकै खुशी देखिएका छन् ।

चुनावका लागि वृद्धवृद्धा, अपांगता भएका व्यक्ति, गर्भवती, सुत्केरी महिलालाई प्राथमिकता दिइ लाइनमा बस्न नपर्ने व्यवस्था गरिएको छ । दृष्टिविहीनलाई एकाघरका सदस्यले मत दिन सघाउन सक्ने व्यवस्था आयोगले गरेको छ ।

आयोगले २ हजार १ सय ६६ मतदान स्थल र ३ हजार ५ सय ७८ वटा मतदान केन्द्र तोकेको छ । प्रदेश २ का २६ लाख ६४ हजारभन्दा बढी मतदाताले मत दिँदैछन् ।

चुनावमा ३७ हजार २ सय ३६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये महिला १४ हजार ३ सय ३७, पुरुष २२ हजार ८ सय ६१ जना छन् । ८ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

यसअघि  वैशाख ३१ र असार १४ गते दुई चरणमा प्रदेश नं १, ३, ४, ५ तथा ६ का स्थानीय तहमा निर्वाचन सम्पन्न भई जनप्रतिनिधिले काम गर्नसमेत थालिसकेका छन् ।

स्थानीय निर्वाचनको तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको एक सय ३६ स्थानीय तहमा निर्वाचन भएको हो ।

२ नम्बर प्रदेशमा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् ।

प्रदेश नम्बर २:
निर्वाचित हुने प्रतिनिधि संख्या  : ६ हजार ६ सय २७
उम्मेदवारको संख्या : ३७ हजार २ सय ३६
जम्मा मतदाता : २६ लाख ६४ हजार ९ सय ५०
मतदानस्थल : २ हजार १ सय ६६
मतदानकेन्द्र : ३ हजार ५ सय ७८
सुरक्षाकर्मीको संख्या : ६० हजारभन्दा बढी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij