२०८३ साउन ९ शनिबार

पस्किएको भात खान नपाई घरमाथि बस बज्रियो..

ई आर्थिक    आइतबार, भाद्र २५ २०७४
4K
Shares
पस्किएको भात खान नपाई घरमाथि बस बज्रियो..

२५ भदौ, काठमाडौं । नुवाकोट : शिवपुरी गाउँपालिका ७ लोहरेटोलकी सीता तामाङ शनिबार बिहान ११:४० बजे भात पस्किएर खान ठिक परेकी मात्र थिइन्। तर, एक्कैचोटी घर भत्कियो। उनले कसरी घर भत्कियो भन्ने केही थाहा पाइनन्।

उनले एक गाँस पनि भात नखादै उनको घर पुरै क्षतविक्षत भएको थियो भने दर्जनौँ यात्रु बोकेको बस उनको घरमाथि टुक्राटुक्रा भएर बज्रिएको थियो।

काठमाडौंको माछापोखरीबाट नुवाकोटको खरानीटारका लागि हिँडेको बस शिवपुरी गाउँपालिका ७ लोहोरेटोको सडकबाट तीन सय ५० मिटर झरेपछि सीताको घरमै बज्रिएको हो। खरानीटार जाँदै गरेको बा १ ख ६३४८ नम्बरको बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते छन्।

बस दुर्घटना हुँदा घरमै गम्भीर घाइते भएकी अनिल तामाङकी श्रीमती ३१ वर्षीया सीताको अहिले काठमाडौको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ। बस दुर्घटना भएको प्रत्यक्ष देखेका स्थानीय राजन गुरुङले यस्तो दृश्य जीवनमा पहिलो पटक देखेको बताए। ‘एक्कासी बस भीरमा खस्यो, यस्तो दुर्घटना देखेपछि म केही बोल्न पनि सकिन्’, डराएको अवाजमा गुरुङले भने।

सदरमुकाम विदुरदेखि ४५ किलोमिटर पूर्वमा रहेको शिवपुरी गाउँपालिकामा भएको बस दुर्घटनाका २८ घाइतेमध्ये १८ जनाको राजधानीको धापासिस्थित ग्रीनसिटी अस्पतालमा उपचार भइरहेको छ। अन्य आठ जनाको ग्राण्डी अन्तराष्ट्रिय अस्पताल र एक जनाको बीपी स्मृति अस्पतालमा उपचार हुँदै छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक वीरेन्द्रकुमार वस्यालका अनुसार बस लोहोरे टोलमा पुग्दा साँघुरो सडकबाट साल र उत्तिसका ठूलाठूला रुख भाँच्दै सीताको घरमा बज्रिएको थियो।

दुर्घटनामा परी मृत्‍यु हुनेमा विदुर नगरपालिका ९ की २१ वर्षीया शशी बोगटी, तादी गाउँपालिका ५ की ४५ वर्षीया लक्ष्मी न्यौपाने, सोही ठाउँकी ६७ वर्षीया ठूलीमाया तामाङ, बसका सहचालक तादी गाउँपालिका ७ बिसेका २८ वर्षीय नवराज बिक, ठेगाना नखुलेका ५४ वर्षीय लालबहादुर तामाङ र ठेगाना नखुलेकी ३७ वर्षीया उजेली तामाङ, तादी गाउँपालिका रालुकाकी २२ वर्षीया सबिना तामाङको मृत्यु भइसकेको छ। अन्य तीन जना जस्तै सीता समेत गम्भीर घाइते छिन्।

साँघुरो सडकमा क्षमता भन्दा बढी यात्रु बोकेको बसको स्टेरिङ नघुम्दा दुर्घटना भएको प्रहरीको अनुमान छ। दुर्घटना लगत्तै बसका चालक फरार छन्।आजको अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij