२२ भदौ, काठमाडौं । ओम डेभलपमेन्ट बैंकले ३० प्रतिशत हकप्रद जारी गर्न बुक क्लोजको मिति तय गरेको छ ।
बैंकले भदौ ३० मा बुक क्लोज गर्ने भएको छ । यसआधारमा भदौ २९ गतेसम्म कायम शेयरधनीले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।
बैंकले हाल कायम पुँजीको दश बराबर तीन कित्ताका दरले ४९ लाख ३१ हजार ८३५ कित्ता हकप्रद जारी गर्न लागेको हो । ओमको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
हाल एक अर्ब ६४ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकको ३० प्रतिशत हकप्रद पश्चात चुक्ता पूँजी दुई अर्ब १३ करोड नाघ्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा ओमले ४३ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिशेयर आम्दानी २६ रुपैयाँ २७ पैसा र प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ३० पैसा छ ।