२०८३ साउन ९ शनिबार

अबदेखि अनलाइनबाटै प्राधिकरणको महशुल तिर्न सकिने

ई आर्थिक    सोमबार, भाद्र ५ २०७४
2.5K
Shares
अबदेखि अनलाइनबाटै प्राधिकरणको महशुल तिर्न सकिने

५ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भदौ ५ गते सोमवारदेखि विभिन्न बैङ्क तथा वित्तीय संस्थामार्फत अनलाइन प्रणालीबाट सहजैरुपमा महशुल तिर्न सक्ने व्यवस्था गरेको छ ।

ऊर्जा मन्त्रालयमा सोमवार आयोजित कार्यक्रममा ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले अनलाइन बिल भुक्तानी प्रणालीको शुभारम्भ गरे । ग्राहकले मोबाइल बैङ्किङ सेवामार्फत मोबाइलबाट पनि सहजैरुपमा घरमै बसेर महशुल तिर्न सक्नेछन् । यस्तै ग्राहकले प्रभु बैङ्क तथा इ सेवाका मोबाइल एप्प डाउनलोड गरेर पनि भुक्तानी गर्न सक्नेछन् ।

त्यस्तै ग्राहकले आफ्नो महशुल तिर्न नजिकैको इ सेवा, प्रभु बैङ्क, महालक्ष्मी विकास बैङ्क, हिमाल रेमिट, सिटी एक्सप्रेस, पे प्वाइन्ट नेपाललगायतका संस्थाबाट बिना शुल्क महशुल तिर्न सक्ने व्यवस्था गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र ती संस्थाका बीच महशुल भुक्तानी सम्बन्धी सहमतिपत्रमा समेत हस्ताक्षर भइसकेको छ । निकट भविश्यमा नै हिमालयन बैङ्क, नेपाल इन्भेष्टमेन्ट बैङ्क र नेपाल क्लिरिङ हाउसबाट समेत महशुल तिर्न सक्ने व्यवस्था गरिनेछ ।

प्राधिकरणले सोमवार सम्झौता गरेका संस्थाको मुलुकभर करीब १५ हजार आउटलेट सञ्चालनमा रहेका छन् । ऊर्जामन्त्री शाहीले आगामी डेढ महिनाभित्रै नेपाल टेलिकमको रिचार्ज कार्डबाट समेत महशुल तिर्न सक्ने प्रणालीको विकास गरिने जानकारी दिए । सो प्रणालीको प्राधिकरणले यसअघि नै परीक्षण गरिसकेको छ ।

ग्राहकलाई बढीभन्दा बढी सेवा दिने उद्देश्यले अनलाइन भुक्तानी प्रणालीको विकास गरिएको जानकारी दिँदै मन्त्री शाहीले ग्राहकलाई लामो लाइनमा बस्नुपर्ने, बढी खर्च हुने, घाम पानी तथा अन्य असुविधाबाट टाढा राखेर सेवा दिने लक्ष्यलाई केन्द्रबिन्दुमा राखिएको बताए ।

ग्रामीण क्षेत्रमा न्यूनतम रू. ८० महशुल तिर्न रू.४ सयसम्म खर्च गर्नुपरेको भन्ने गुनासो आइरहेका बेला यस्तो प्रविधिले सहजता ल्याउने विश्वास गरिएको छ । ग्राहकले नजिकैको बैङ्क तथा वित्तीय संस्था वा इ–सेवाको सेवा उपलब्ध गराएका स्थानमा गएर महशुल तिर्न सक्नेछन् । प्राधिकरणका कर्मचारीले मिटर रिडिङ गर्दा दिएको बिलअनुसार नजिक रहेका ती संस्थाको शाखामा गएर महशुल तिर्न सक्ने व्यवस्था गरिएको छ ।

मन्त्री शाहीले प्राधिकरणको प्रणालीलाई स्मार्ट ग्रीड तथा स्मार्ट मिटरमा लैजानका लागि नयाँ शुरुवात गरिएको र त्यसले एकाध वर्षमा सार्थकता पाउने विश्वास व्यक्त गरे । ती संस्थाले ग्राहकसँग कुनै पनि शुल्क लिन पाउने छैनन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ग्राहकलाई बढीभन्दा बढी सहज सेवा दिने लक्ष्यका साथ अनलाइन भुक्तानी प्रणाली शुरुवात गरिएको जानकारी दिए ।
प्राधिकरणले तोकेको संस्था वा निकायमा महशुल बुझाएपछि ग्राहकलाई बिल भुक्तानी भयो भन्ने सूचना दिनेछ । नेपालको सन्दर्भमा यस्तो प्रणाली सञ्चालनमा ल्याउने सरकारी निकायमध्ये नेपाल टेलिकमपछि प्राधिकरण नै भएको सो अवसरमा जानकारी दिइयो ।

अनलाइन भुक्तानी प्रणाली सोमवारदेखि शुरु हुने उनको भनाइ छ । अनलाइन भुक्तानीका लागि सम्झौता भएका संस्थाले रू. ५० लाख धरौटीसमेत प्राधिकरणको खातामा राखेका छन् । ग्राहकले महशुल तिरेको भन्ने सूचना सम्बन्धित बैङ्क तथा वित्तीय संस्था वा इसेवाका काउन्टर र प्राधिकरणको भुक्तानी इकाइमा समेत तथ्याङ्क रहनेछ ।

प्राधिकरणले अनलाइन भुक्तानी सेवा उपलब्ध गराउन इच्छुक फर्म वा संस्थालाई सार्वजनिक आह्वान गरेको थियो । सोही आधारमा पहिलो चरणमा छ ओटा संस्थासँग सम्झौता गरिएको प्राधिकरणका उपकार्यकारी निर्देशक सुनिल ढुङ्गेलले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij