२०८३ साउन ९ शनिबार

जग्गा खरिद प्रकरणमा अनियमित गर्नेलाई कारवाही गरेर छाड्नेछु– मन्त्री मण्डल

ई आर्थिक    सोमबार, साउन २३ २०७४
2.2K
Shares
जग्गा खरिद प्रकरणमा अनियमित गर्नेलाई कारवाही गरेर छाड्नेछु– मन्त्री मण्डल

२३ साउन, विराटनगर । आपूर्ति मन्त्री शिवकुमार मण्डलले संविधानलाई कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको काँधमा रहेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपालद्वारा आज विराटनगरमा उहाँको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँले राष्ट्रिय जनता पार्टी (राजपा) लाई निर्वाचनमा सहभागी गराउन सक्यो भने सरकारका लागि ठूलो सफलता हुनेछ भन्नुभयो ।

उहाँले संविधानलाई सर्वस्वीकार्य बनाउन अघिल्लो सरकारले सुरु गरेका कार्यलाई निरन्तरता दिँदै राजपालाई निर्वाचनमा सहभागी गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । आगामी माघ ८ गतेभित्रै प्रदेश र संघीय संसद्को निर्वाचन गराउन सरकार गम्भीर रहेको उहाँको भनाइ थियो ।

नेपाल आयल निगमद्वारा खरिद गरिएको जग्गा प्रकरणको सम्बन्धमा बोल्दै उहाँले कानूनी रुपमा जे जस्तो देखिए पनि व्यावहारिक रुपमा बढी मूल्यमा जग्गा खरिद गरिएको देखिएकाले त्यस्ता गलत प्रवृत्तिको विरुद्धमा आफूले कडा कारवाही गराएर छाड्ने दृढता व्यक्त गर्नुभयो ।

दशैंँ तिहारको समयमा अतिआवश्यक वस्तुको कृतिम अभाव र मूल्य बढ्न नदिन सरकार गम्भीर रहेको प्रसंग उल्लेख गर्दै उहाँले कृत्रिम अभावलाई नियन्त्रण गर्न कडा अनुगमन गरिने बताउनुभयो ।

उहाँले कालोबजारीलाई नियन्त्रण र दण्डित गर्न ऐन संशोधनको प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।

नेशनल ट्रेडिङ लिमिटेड धराशायी अवस्थामा रहेकाले यसलाई नयाँ रुपमा ढाल्न मन्त्रालयले ठोस कदम चाल्ने मन्त्री मण्डलको भनाइ थियो ।

प्रेस सेन्टर नेपाल मोरङका अध्यक्ष गोकुल पराजुलीेले उहाँलाई कार्यकालको सफलताको शुभकामना प्रकट गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij