२०८३ साउन ९ शनिबार

कल बाइपास गरेका पाँच अपराधी प्रहरीद्वारा सार्वजनिक

ई आर्थिक    मंगलबार, साउन १७ २०७४
4.2K
Shares
कल बाइपास गरेका पाँच अपराधी प्रहरीद्वारा सार्वजनिक

१७ साउन, बनेपा । अवैध कल बाइपास गरेको आरोपमा काभ्रेपलाञ्चोकको बनेपा–७ स्थित गोदामचोकबाट विभिन्न उपकरणसहित पक्डिएका पाँच जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

उनीहरुबाट बरामद टिपी लिङकको राउटर, एनटिसीको राउटर, माइक्रो मोडियम युएसपी, युएसपी मोडियम, केभिन होम युएसपी, स्मार्ट सोलार डिप ब्याट्री, स्मार्ट टेलको सिमकार्ड, एचपिको पेन ड्राइभ, एनसेलको सिमकार्ड दुई थान, मल्टिप्लग, ६४ पोर्टको भिओआइपी गेट ओए दुई थान र एसर कम्पनीको ल्यापटप जिल्ला प्रहरी कार्यालयले आज धुलिखेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो ।

पक्डिएका म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौर बस्ने २९ वर्षीय केशवराज पौडेल, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ शिखर आम्बोटेका २२ वर्षीय विकास लामा, सोही गाउँपालिका–८ सिपाली चिलाउनेका ३२ वर्षीय विनोदकुमार मैनाली, जिल्लाको चौरी देउराली गाउँपालिका–४ निवासी २४ वर्षीय सुजन तामाङ र दोलखाको फूस्कु गाउँपालिकाका २४ वर्षीय अवि थापालाई सार्वजनिक गरिएको हो ।
प्रहरी उपरीक्षक सहदेव थापाका अनुसार पक्राउ परेकामध्ये मैनाली विसं २०७० असोज १४ गते त्यही प्रकृतिको मुद्दामा तीन वर्ष कैद भुक्तान गरेका व्यक्ति हुन् । यसअघि पनौतीमा पनि प्रहरीले अवैध भिओआइपी सञ्चालन गरेका दुईजनालाई पक्राउ गरेको थियो ।

प्रहरी उपरीक्षक थापाले भिओआइपी अपराधमा भारतीय नागरिकको समेत संलग्नता रहेको र भारत हैदरावादका रवितलास शिलाले यस अपराध कर्मको नेतृत्व गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउनुभयो । ती अपराधी अहिले फरार छन् ।

पक्राउ परेका सबैलाई दूरसञ्चार ऐन २०५३ को दफा ४७ को ५ बमोजिम बिगो बराबर जरिवाना वा पाँच वर्ष कैद वा दुबै सजाय हुनसक्छ ।
लामो समयको अनुसन्धानपछि विशेष सुराकीका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय, बनेपाको संयुक्त टोलीले बनेपा–७ गोदामचोकस्थित चन्द्रमाया लामा घरबाट उनीहरुलाई सोमवार पक्राउ गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij