२०८३ साउन ९ शनिबार

पर्यटन सचिवलाई प्रभावमा पारेर ५ करोड निकासा गर्ने टानको अन्तिम तयारी भइरहेको खुलासा

ई आर्थिक    सोमबार, साउन ९ २०७४
4.8K
Shares
पर्यटन सचिवलाई प्रभावमा पारेर ५ करोड निकासा गर्ने टानको अन्तिम तयारी भइरहेको खुलासा

९ साउन, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नेतृत्वले पर्यटन सचिवलाई समेत प्रभावमा पारेर नेपाल पर्यटन बोर्डबाट टिम्सबापतको रकम निकाशा गर्न लागिपरेको छ ।

पर्यटन सचिव शंकरप्रसाद अधिकारीलाई विवादमा पार्नेगरी बोर्डबाट रु. ५ करोड रुपैयाँभन्दा बढी रकम निकासा गर्ने अन्तिम तयारी भइरहेको खुलासा भएको छ ।

टानले टिम्सबापत जम्मा ११ करोड रुपैयाँभन्दा बढी रकम बोर्डबाट लिन बाँकी छ । टानले आफ्नो हिसाबकिताब फस्र्यौट नगरेका कारण अहिलेसम्म उक्त रकम सम्झौता अनुसार निकासा हुन नसकेको हो । यो विषय महालेखा परिक्षकको कार्यलय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ भने व्यवस्थापिका संसद् अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पनि टानलाई दिनुपर्ने रकम रोक्का गर्न निर्देशन दिएको थियो । तर, उक्त निर्देशनविपरीत पर्यटन सचिव र पर्यटन बोर्डका कर्मचारीलाई समेत दबाव र प्रभावमा पारी रकम निकासा गराउन टान नेतृत्वले कोसिस गरिरहेको छ । यता पर्यटन बोर्डका कर्मचारीहरु भने उक्त रकम निकासाको लागि तत्काल हस्ताक्षर गर्ने पक्षमा देखिँदैनन् ।

टान अध्यक्ष चन्द्र रिजालले यसअघि पटकपटक आफ्नै पार्टीबाट पर्यटनमन्त्री हुँदा पनि निकासा गर्न नसकेको टिम्सबापतको रकम अहिलेको प्रतिकूल अवस्थामा निकासा गर्न लागेको विषयलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । यसमा कतै ठूलो आर्थिक चलखेलले त काम गरिरहेको छैन भन्ने आशंकाहरु उब्जिन थालेको छ ।

यस विषयमा पर्यटन सचिव अधिकारीले खुलेर बोल्न चाहेनन् । उनले एक शब्दमा टिम्स रकम निकासाको लागि कार्यदल बनाइएको र त्यसले कार्यविधि बनाएपछि रकम निकासा हुने बताए । केही समयअघि अर्थमन्त्रालयका सचिव गणेश पाण्डेलाई बोर्डको बैठकमा टिम्सकै विषयलाई लिएर बोर्ड सदस्यहरुले अभद्र व्यवहार गरेपछि अचेल पाण्डे बोर्डको बैठक आउन छाडेका छन् ।

त्यसो त, पर्यटन प्रवद्र्धन गर्ने मुख्य हिस्सेदारी निकाय नेपाल पर्यटन बोर्डलाई पछिल्लोपटक विभिन्न बहानामा एमाले कार्यकर्ताको भर्ती केन्द्र बनाउने काम भइरहेको छ । यत्तिसम्म कि पर्यटन बोर्डका सञ्चालक समितिका केही सदस्य अहिले कर्मचारीजस्तो दिनभरी बोर्डमा बसेर यहाँका कर्मचारीहरुलाई मानसिक दबाव दिने काम भइरहेको छ ।

पछिल्लोपटक पर्यटन बोर्डलाई राजनीतिकरण गरेर एमालेको अखडा बनाउने, कार्यकर्ता भर्ती केन्द्र बनाउने, एमाले संगठनको नाममा विदेश भ्रमण गर्ने जस्ता अवैध कामहरु श्रृंखलाबद्ध रुपमा भइरहेको नाम नबताउने शर्तमा बोर्डका एक कर्मचारीले जानकारी दिए । शक्तिको आँटमा पर्यटन बोर्डअन्तर्गतको टिम्स हेर्नका लागि टान अध्यक्ष चन्द्र रिजाल समुहका एसमेन कृष्ण अर्याललाई ल्याइएको छ ।

टानले अहिलेसम्म पर्यटन बोर्डबाट दुई किस्तामा टिम्सबापतको रकम लिइसकेको छ । टानले बोेर्डबाट प्राकृतिक विपत्ति हुँदहुँदको लागि खर्च गर्ने शर्तमा पहिलो किस्ता १ करोड ८८ लाख रुपैयाँ निकालेको थियो । जुन रकम शर्तअनुसार नै खर्च गरिएको छ । त्यसपछि अर्को किस्तामा तलब भत्ता र घरभाडा शीर्षकमा १ करोड २५ लाख रुपैयाँ ल्याएको छ । त्यसमध्ये केही रकम टिम्स डिपार्टको कर्मचारी तलब, भत्ता र घर भाडामा खर्च गरिएको छ भने बाँकी ३७ लाख रुपैयाँमध्ये ३० लाख रुपैयाँ रकमान्तर गरेर टानको खातामा जम्मा गर्न अध्यक्ष रिजाल लागि परेका थिए । तर कोषाध्यक्ष लिलाबल्दब दाहालले रकमान्तरमा हस्ताक्षर नगरेपछि उक्त रकम टिम्स कोषमै यथावत् रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij