२०८३ साउन ९ शनिबार

त्रिपक्षीय सम्झौता भएपछि सोलु खोलामा मोटर चल्ने पक्की पुल बन्ने पक्का

ई आर्थिक    शुक्रबार, असार ३० २०७४
9.9K
Shares
त्रिपक्षीय सम्झौता भएपछि सोलु खोलामा मोटर चल्ने पक्की पुल बन्ने पक्का

३० असार, सल्लेरी (सोलुखुम्बु)। सल्लेरी–खोरिया सडक खण्डस्थित सोलु खोलामा मोटर चल्ने पक्की पुल बन्ने भएको छ । जिल्ला समन्वय समिति सोलुखुम्बु, सोलु दूधकुण्ड नगरपालिका र अपरसोलु हाइड्रोपावरबीच पुल निर्माण गर्ने विषयमा हिजो बिहीबार त्रिपक्षीय सम्झौता भएपछि पुल बन्ने पक्का भएको हो ।

कुल रु पाँच करोड एक लाख ६३ हजार ८२८ को लागतमा बन्न लागेको उक्त पुलको अपरसोलु हाइड्रोपावरले रु दुई करोड ५२ लाख ३८ हजार ३८६ जिल्ला समन्वय समिति सोलुखुम्बुबाट रु एक करोड ६९ लाख ५० हजार र सोलु दूधकुण्ड नगरपालिकाको रु ७६ लाख ७५ हजार ४११ लगानी रहने सहमतिसहित सम्झौता भएको जिल्ला समन्वय समिति सोलुखुम्बुका स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

लम्बाइ ३१.२ मिटर र चौडाइ पाँच मिटर रहने उक्त पुलको क्षमता ५० टन रहने कार्यालयले जनाएको छ । २०७५ साल माघभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त पुलको बोलपत्र आह्वान तत्काल नगरपालिकाले गर्ने छ ।

पुल निर्माण सम्पन्न भएपछि जिल्लालाई राजधानीसँग सिधा जोड्न सकिनेछ । हाल जिल्लालाई राजधानीसँग जोडिएको ओखलढुङ्गा जन्तर धाप सडक खण्डमा पर्ने सिस्नेरी पहिरोका कारण जिल्लावासीले सास्ती खेप्दै आएका छन् ।

हिउँद् याममा समेत गाडी फस्ने समस्या झेल्नुपरेको जिल्लावासीले हाल सम्झौता भई निर्माण प्रक्रिया अगाडि बढाइएको पुल निर्माण सम्पन्न भएसँगै उक्त सास्तीबाट मुक्ति मिल्ने छ ।

जिल्लाको जोरबौद्धबाट खोरिया, टाप्टिङ हँुदै जन्तरधाप जोडिने उक्त सडकमा बन्न लागेको पुलनिर्माणपछि सोलु दूधकुण्ड, गोरा, केरुङ र टाप्टिङका नागरिकलाई सदरमुकामसम्म आवतजातको लागि समेत सहज हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij