३० असार, लहान । विगत सात वर्षको अवधिमा सिरहाबाट झण्डै एक लाख युवा वैदेशिक रोजगारमा गएको एक तथ्यांकले देखाएको छ ।
सिरहामा सुरक्षित आप्रवासनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका जिल्ला समन्वय समिति÷सूचना तथा परामर्श केन्द्र र सामी परियोजनाले आज सदरमुकाम सिरहामा आयोजना गरेको कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरिएको हो ।
सामी परियोजनाका जिल्ला संयोजक कबीरकुमार चौधरीले जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको अवस्थाबारे तथ्यांक प्रस्तुत गर्दै आव २०६७/६८ देखि हालसम्ममा जिल्लाबाट ९४ हजार २७५ जना युवा वैदेशिक रोजगारमा गएको जानकारी दिनुभयो । जसमा ९४ हजार १४४ पुरुष र १३१ जना महिला रहेको तथ्यांकमा उल्लेख छ ।
उहाँकाअनुसार आव २०६७/६८ देखि २०७३/७४ सम्ममा जिल्लाबाट सबैभन्दा बढी ३५ हजार ७९८ जना युवा कतार, २९ हजार ६५८ जना साउदी, २२ हजार ४४८ जना मलेसियामा वैदेशिक रोजगारका लागि गएको छ । सामी परियोजनाअन्तर्गत सञ्चालित सूचना परामर्श केन्द्रबाट दुई वर्षको अवधिमा वैदेशिक रोजगारका लागि जिल्लाबाट ५९ जनाले निःशुल्क सीप सिकेर तथा १० हजार २०३ जनाले निःशुल्क सूचना तथा परामर्श लिएर वैदेशिक रोजगारमा गएको संयोजक चौधरीले बताउनुभयो ।
यस्तै वैदेशिक रोजगारका क्रममा मृत्यु भएका १४ जनामध्ये चालु आव २०७३/७४ मा १२ जनाको परिवारलाई रु एक करोड १८ लाख ८४ हजार ५१८ क्षतिपूर्ति उपलब्ध गराउन सफल भएको उहाँले जानकारी दिनुभयो । सिरहाबाट वैदेशिक रोजगारीमा जानेमध्ये दुई प्रतिशतमात्र दक्ष भएर जाने गरेकाले वैदेशिक रोजगार चुनौतीपूर्ण बनेको परियोजनाको ठहर छ ।
सिरहाका स्थानीय विकास अधिकारी सुरेशकुमार राउतले कुनै सीप वा जानकारी नलिई विदेश गएर दुःख पाउनुको साटो स्वदेशमै कुनै सीप अथवा जानकारी लिएर गएमा युवाले दुःख नपाउने विश्वास व्यक्त गर्नुभयो । रासस