१९ असार, चितवन । जीवनभर दान गरेर कहिल्यै नथाक्नुभएकी मैयादेवी श्रेष्ठलाई अझै दान गर्ने धोका बाँकी नै छ ।
जीवनमा दान गरेको सबै हिसाब किताब त थाहा छैन उनलाई तर पनि अहिलेको प्रचलित मूल्यअनुसार हिसाब गर्ने हो भने रु एक अर्बभन्दा बढीको सम्पत्ति उहाँले दान गरिसकेकी छिन् ।
बिपीको निधन अघि टुँडिखेलको अन्तिम सभामा सम्बोधन सुन्न काठमाडौँ आएकी श्रेष्ठलाई सभापछि भेटघाट हुँदा बिपीले भोलिपल्ट घरमै डाके ।
त्यसो त बिपीले बोलाएको भन्ने खबरै पाएर उनले उपहारस्वरुप गाईको घ्यू, मह, कागती लिएर काठमाडौँ गएकी थिइन् ।
भोलिपल्ट बिपी निवास पुग्नुभएकी उहाँलाई भावुक हुँदै बिपीले श्रीमती सुशीलालाई देखाउँदै भने – “म अब धेरै बाँच्दिन यिनीहरुलाई बस्ने एउटा घडेरी दिन सक्नुहुन्छ रु” श्रेष्ठले भनिन् –“मेरो आँखाबाट आँसु आयो, मैले हुन्छ भनेँ, मेरो हातमा बिपीले सुशीलाको हात राखिदिनुभयो ।” तर अहिलेसम्म उनले त्यो घडेरी दिन पाएकी छैनन् ।
उनानब्बे वर्षीया श्रेष्ठ विगत केही वर्षयता रोगका कारण कमजोर भएकी छिन् । उनी भन्छिन्– “मैले सपनामा पनि बिपी बाबुलाई देख्ने गरेकी छु ।” श्रेष्ठले भनिन्– “बिपी पुत्र शशाङ्कलाई एउटा घडेरी छुट्याएको छु । त्यो दिन पाए मेरो सबै इच्छा पूरा हुने थिए ।” पछिल्लोपटक मेरो छोरा टङ्क बाबुले फोन गरेर बोलएपछि सानो भ¥याङ काठमाडौँको घरमा शशाङ्कले भेटे पनि अमेरिकाबाट फर्किएपछि रजिस्ट्रेसन गरौँला भनेको उहाँले बिर्सेको छैनिन् ।
आजभोलि शशाङ्क फर्किने बताउँदै उनले भनिन् – “यो मेरो जीवनको अन्तिम इच्छा हो । यो घडेरी दिएपछि सबै इच्छा पूरा हुन्छ ।” श्रेष्ठलाई आजभोलि समय समयमा बैंककमा लगेर उपचार गर्ने गरिएको छ । जब सम्पत्ति दान गर्छु तव आफ्नो स्वास्थ्यमा सुधार हुने गरेको उनी बताउँछिन् ।
उनले सन्त नेता कृष्णप्रसाद भट्टराईलाई पनि चामल, घ्यू, तेल, तरकारीलगायत सामग्री दिइराख्थिन् । कति वर्ष भट्टराईलाई खुवाउनुभयो भन्ने प्रश्नमा उनको जवाफ छ – “विसं २००३ मा म राष्ट्रिय काँग्रेस बनेँ त्यसदेखि समय–समयमा पु¥याइराख्थेँ ।
उनले काँग्रेस नेतालाई मात्रै होइन, पार्टीका लागि पनि दान गरेकी छिन् । पार्टीका वडा, जिल्लादेखि केन्द्रीय कार्यालय भवनसमेत उनले दिएको जग्गामा बनेका छन् ।
“किसुनजीको आग्रहमा पार्टीलाई घरजग्गा दान गरेकी हुँ ।” किसुनजीको भनाइ उद्धृत गर्दै श्रेष्ठले भनिन् , “मैयाँ, पार्टी गरिब छ, पार्टीलाई कार्यालय चाहियो ।” भट्टराईको यो भनाइपछि उनले आफू बस्दै आएको रविभवनस्थित घर पार्टीलाई दिइन् । त्यतिबेला नेपाली काँग्रेसको केन्द्रीय कार्यालय त्यही घरबाट सञ्चालन हुन्थ्यो । हाल उक्त घरमा नेपाल तरुण दल र भूपू सेनानी सङ्घको कार्यालय छ ।
भरतपुर महानगरपालिका वडा नं ३मा रहको जग्गा श्रेष्ठले पार्टीको जिल्ला कार्यालय बनाउन दान दिइन भने पार्टीको गोरखा जिल्ला कार्यालय निर्माणका लागि रु २० लाख दिइन । देवघाटमा पनि पार्टीका लागि घडेरी दान गरिन ।
यससँगै भरतपुरमा मैयादेवी कन्या क्याम्पसका लागि जग्गा खरिद गरी भवनसमेत निर्माण गरिदिनुभएको छ । उहाँकै नाममा स्नातकोत्तरसम्मको पढाइ उक्त क्याम्पसमा हुँदै आएको छ ।
यसैगरी नेपाल प्रेस युनियन चितवन शाखालाई भरतपुर ११ मा, पिस फेडेरेसनलाई भरतपुर ११ मा, नारायणचारी बाबालाई देवघाटमा, डा रामानन्द गिरी संरक्षक रहेको महेश सन्यास आश्रम देवघाटलाई, नारायणगढस्थित पतञ्जली योग समिति नेवा पुचःलाई पनि उनले जग्गा दान गरेकी छिन् ।
अविवाहित उनको सेवामा समर्पित भएर छोरा बनाइएका टङ्कनाथ पौडेल, ऋषिराम गौतम, हरिनारायण सापकोटा र मधुराम दुवाडीलाई गुजारा चल्ने गरी नारायणगढ बजारमा जग्गा दिएकी छिन् । त्यसैगरी दाइका छोराहरु प्रेमकुमार श्रेष्ठ, सिद्धकुमार श्रेष्ठ र बुहारी कल्याणी श्रेष्ठलाई पनि उनले जग्गा दिएकी छिन् ।
आफूले हुर्काएका नारायणगढका कृष्णप्रसाद श्रेष्ठलाई बजारमै घडेरी दिएकी छिन् । भान्से इन्दिरा ढकाललाई देवघाटमा घडेरी दिएकीछिन् । पुजारी रामबहादुर कार्की र उहाँकी श्रीमती देवीलाई देवघाटमा घडेरी दिएकी छिन् । यौवन अवस्थादेखिका साथी विष्णुमाया श्रेष्ठलाई नारायणगढ बजारमा घडेरी दिएकी छिन् ।
श्रेष्ठकी आफन्त मन्दिरा श्रेष्ठलाई देवघाटमा र बुबाको अन्त्येष्टिमा पाल्पाबाट झिकाएका शिस्वानी बाजे र बजैलाई पनि उनले नारायणगढ बजारमा घडेरी दिएकीछिन् । पुरेत षडानन्द लामिछानेलाई नारायणगढमा, ट्रष्टका सचिव हरि ढकाललाई देवघाटमा, पूर्व मन्त्री चित्रलेखा यादवलाई देवघाटमा, ठूलीआमाको छोरा कृष्णभाइ प्रधानलाई देवघाटमा, नातिनी उन्नती अधिकारी र श्रेया पौडेललाई समेत उहाँले घडेरी दिएकी छिन्।
यसैगरी पूर्व प्रबन्धक खोपमबहादुरलाई बसेनीमा र सहयोगी काजीरामकी श्रीमतीलाई पनि बसेनीमा घडेरी दिएको श्रेष्ठले भनिन् – “अरु पनि धेरैलाई दिएँ, तर सबैको सम्झना छैन ।”
उनको यतिका सम्पत्ति पुख्र्यौली नै हो । श्रेष्ठका पिता वीरबहादुर श्रेष्ठ १९९० ताका तनहुँको बन्दिपुरबाट स–परिवार नारायणगढ झरेका थिए । उनका पिता तत्कालीन अवस्थामा नारायणगढमा भारतदेखि सामान ल्याएर बिक्री गर्ने ठूला व्यापारी थिए ।
बाल्यकालदेखि छोराको रुपमा रहेर नै मैयादेवीको सेवामा समर्पित टङ्कनाथका अनुसार नारायणगढ बजारको मुख्य भाग सबै उनीहरुकै आफन्तको रहेको थियो । पौडेलले भने – “नारायणगढ बजारमा मात्रै करिब तीन बिगाहा जग्गा थियो ।”
नारायणगढमा मात्रै होइन, उनीहरुको भरतपुर–११ बसेनीमा १० बिगाहा, र तनहुँको देवघाटमा ३३ रोपनी जग्गा थियो । श्रेष्ठले जीवनभर दान दान गर्दै आएकी श्रेष्ठको नारायणगढमा सात कट्ठा, बसेनीमा एक बिगाहा, देवघाटमा १२ रोपनी र भतेरीमा एक बिगाहा जमिन बाँकी छ ।
उनले नारायणगढमा आफू बस्दै आएको घर मैयादेवी ट्रष्ट खोलेर दान गरेकी छिन् भने सोही ट्रष्टमा रु दुई करोड नगद पनि रोखकी छिन् । आफू बसेको घर ट्रष्टलाई दिएपछि भरतपुर–२ क्षेत्रपुरमा सानो घर किनेर बस्दै आएकी छिन् । बाँकी सम्पत्तिमध्ये एउटा घडेरी डा शशाङ्क कोइरालाको नाममा रजिष्ट्रेसन गरेर दिने र बाँकी सबै सम्पत्ति ट्रष्टमा राख्ने उनको धोको छ ।
एघार वर्षको उमेरमा मैयादेवीको सेवा गर्न आउनुभएका ४६ वर्षीय टङ्कनाथले मैयादेवीका सामाजिक अभियानमा साथ दिँदै आएका छन् । दर्जनौँ सङ्घसंस्थामा क्रियाशील देवघाट क्षेत्र विकास समितिका अध्यक्षसमेत रहनुभएका पौडेल दुःखी, गरिब, असहाय जो कसैले पनि मागेपछि मैयादेवी आमाले दिने गर्नुभएको बताउँछन् । उनले भने – “मैयादेवी आमाले मागेकालाई दिन्न भन्नुहुन्न ।”
जीवनभर दान गर्नुभएकी मैयादेवीले राजनीतिका धेरै पदमा बसेर पनि कहिल्यै कमाउने धन्दामा लाग्नुभएन । निष्कलङ्क श्रेष्ठ गोरखा क्षेत्र नं २ बाट सांसद र राष्ट्रिय सभाको सदस्य भएर देश र जनताको सेवामा समर्पित भएकी थिइन्। पद र प्रतिष्ठाका लागि कहिल्यै मरिहत्ते नगर्ने उनले सधैँ पार्टी, राष्ट्र र जनताको भलो मात्रै सोचिन् । मैयादेवीकै सङ्गतले होला छोरा टङ्कनाथले पनि कुनैपनि बैठकमा भत्ता नलिने घोषण गरेकी छिन् ।
राजनीतिमा हुने आर्थिक चलखेल र राजनीतिलाई कमाउको पेसा बनाउनेहरुका लागि मैयादेवी एउटा उदाहरण हुन । उनले अख्तियार गरेको बाटोमा हिँड्न सक्ने हो भने राजनीतिप्रतिको जनताको भावनामा पनि ठूलो परिवर्तन आउनेमा निश्चित छ । रासस