१४ असार, काठमाडौं । देव विकास बैंक र युनियन फाइनान्सले असार २९ गते विशेष साधारण सभा बोलाएका छन् । विशेष साधारण सभामा देव विकास बैंकले युनियन फाइनान्सलाई एक्वायर गर्न स्वीकृति दिने विशेष प्रस्ताव लगिँदैछ । यी दुवै संस्थाले एक्विजिसन सम्बन्धी भएका सम्झौता र सहमति पत्रलाई साधारण सभाबाट अनुमोदन गर्ने प्रस्ताव गरेका छन् ।
यसैगरी, साधारण सभामा देव विकास बैंकले युनियन फार्इनान्सको दुई कित्ता बराबर १ कित्ताको अनुपातमा हुनेगरी सेयर स्वाप रेसियो कायम गर्ने प्रस्ताव पारित गर्ने भएको छ । देवले एक्विजिसन प्रकृयामा रहेका संस्थालाई एक्वायर गरिसकेपछि कायम हुने चुक्ता पुँजीमा ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि साधारण सभामा लैजाँदैछ ।
विशेष साधारण सभा गर्न देवले असार २३ देखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । युनियनको भने एक्विजिसन प्रकृयाका कारण गत चैत १० गतेदेखि सेयर कारोबार बन्द छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन देवः विकास बैंकले यसअघि सहारा विकास बैंकलाई एक्वायर गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर पनि गरिसकेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खुद नाफा १९ करोड ९० लाख ५८ हजार रुपैयाँ छ ।