१४ असार, काठमाडौं । हिमालयन जनरल इन्सुरेन्सले असार २८ गतेदेखि १६६.६७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः१.६६६७ अनुपातमा (१ कित्ता बराबर थप नयाँ १.६६६७ कित्ता) ६४ लाख २० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
हिमालयन जनरलको हकप्रदमा असार १५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र साउन ३१ गतेसम्म आवेदन दिन पाउनेछन् । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्दैछ । लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय नागपोखरी र एनएमबि बैंकको भक्तपुर सूर्यबिनायक, ललितपुर कुमारीपाटी, बनेपाको तीन दोबाटो, बुटवल ट्राफिक चोक शाखाबाट आवेदन फारम भर्न र बुझाउन पाउनेछन् ।
यस्तै, एनएमबि बैंककै धरान महेन्द्रपथ, विराटनगरको रंगेली रोड, नेपालगन्जको सुर्खेतरोड, धनगढीको बसपार्करोड, पोखरा न्यूरोड, वीरगन्ज आदर्शनगर, चितवन नारायणगढ, जनकपुर भानुचोक र झापा बिर्तामोड शाखाबाट पनि आवेदन भर्न र बुझाउन सकिनेछ ।
हिमालयन जनरल इन्सुरेन्सको हाल चुक्ता पुँजी ३८ करोड ५२ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँ पुग्नेछ ।