१० असार, काठमाडौँ- सलमान खानको बहुप्रतिक्षित फिल्म ट्युबलाइटले पहिलो दिन २१ करोड कमाएको छ । सलमानको निर्माण र अभिनय रहेको बहुप्रतिक्षित चलचित्र ट्युबलाइटले पहिलो दिन बक्स अफिसमा सन्तोषजनक कलेक्सन हात पारेको छ । यधपि यसले अपेक्षा अनुसारको कलेक्सन भने गरेन ।
ट्युबलाइटले पहिलो दिन २१ करोडको ब्यापार गर्यो । बाहुबली २ ले पहिलो दिन ४१ करोडको ब्यापार गरेको थियो । सन् २०१७ रिलिज भएका चलचित्र मध्ये पहिलो दिनमा बढी कमाइ गर्नेमा बाहुबली २ पछि दोस्रो स्थानमा छ । सन् २०१७ मै शाहरुख खानको रइसले २० करोडको ब्यापार गरेको थियो ।
सलमान खानको लागि भने ओपनिङमा बढी पैसा कलेक्सन गर्ने चलचित्रहरुमा सातौँ नम्बरमा पर्यो । खानका प्रेम रतन धन पायो, सुल्तान, एक था टाइगर, बजरंगी भाइजान र किकको कलेक्सन भन्दा ट्युबलाइट पछि नै रह्यो । ट्युबलाइट निर्माण १०० करोड नाघेको थियो । यो चलचित्र भारतका ४३५० र विदेशका १२०० स्क्रिनमा लागेको छ । ट्युबलाइटलाई हिट चलचित्रको रुपमा दरिन १३५ करोड भन्दा बढीको ब्यापार गर्नुपर्ने चलचित्र समीक्षकहरु बताउँछन् । ट्युबलाइटले वल्र्डवाइड थियट्रिकल राइट १३३ करोडमा बेचेको कारणले भने चलचित्रले नाफा कमाउने निश्चित छ ।