९ असार, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाबाट सङ्कलन हुने फोहर मैला विक्रीबाट चालू आर्थिक वर्षमा मात्रै झण्डै रू. सात लाख आम्दानी भएको छ ।
देशका विभिन्न सहरमा फोहरले सास्ती पाइरहेका बेला स्याङ्जाको वालिङमा भने फोहर विक्रीबाट चालू आवको हालसम्म रू. पाँच लाख ५३ हजार आम्दानी भइसकेको छ भने करीब डेढ रू. लाख बराबरको फोहर विक्री गर्ने तयारीमा रहेको दिदीबहिनी तथा समाज उत्थान संस्थाका अध्यक्ष यामप्रसाद भण्डारीले बताए । वालिङ नगरपालिकामा उत्पादन हुने फोहर मैलाको विक्रीबाट पहिलो वर्ष तीन लाख ७९ हजार, दोस्रो वर्ष पाँच लाख १० हजार ८ सय र तेस्रो वर्ष (चालू आवको हालसम्म) रू. पाँच लाख ५३ हजारको फोहर मैला विक्रीबाट आम्दानी भइसकेको छ । फोहर व्यवस्थापनका लागि वालिङ नगरपालिका र दिदीबहिनी समाज उत्थान संस्थाबीच सार्वजनिक निजी साझेदारीबमोजिम २०७१ साल असोज ३० गते चार वर्षको सम्झौता भई काम शुरू भएको थियो ।
वालिङ नगरपालिकाले नगर क्षेत्रमा सङ्कलन हुने फोहरको प्रभावकारी व्यवस्थापन गर्दै आएको छ । घरघरबाट उत्पादन हुने फोहरलाई वर्गीकरण गर्दै सङ्कलन गरेर प्रभावकारी व्यवस्थापन गरिएको छ । फोहर उत्पादन हुनासाथ कुहिने र नकुहिने दुई भागमा वर्गीकरण गरी त्यसलाई प्रशोधन केन्द्रमा लगी प्रशोधन गरेर बिक्री गर्ने गरिएको अध्यक्ष भण्डारीले बताए ।
वालिङ नगरपालिकाले फोहर मैलाका क्षेत्रका गरेको उदाहरणीय कार्यले वालिङ नगरपालिका पुरस्कृत पनि भएको छ भने देशका विभिन्न सहरबाट फोहर मैला व्यवस्थापनका बारेमा जान्न बुझ्नका लागिसमेत यहाँ आउने गरेका छन् । ‘फोहर मैला व्यवस्थापनका क्षेत्रमा वालिङ नगरपालिकाले गरेको यो मोडल देशकै नमूना मोडल हो’, अध्यक्ष भण्डारीले भने, ‘यसको अवलोकन गर्नका लागि हालसम्म देशका विभिन्न नगरपालिका, शैक्षिक तथा अन्य सङ्घसंस्था गरी ५३ ओटा निकायबाट अध्ययन अवलोकन गरेको हामीसँग तथ्याङ्क छ ।’
फोहर मैलाको व्यवस्थापनका लागि हाल पाँच जनाले प्रत्यक्ष रूपमा रोजगारीसमेत पाएका छन् । वालिङलाई सफा र स्वच्छ सहरका रूपमा विकास गर्नका लागि नगरवासीलाई फोहर मैला व्यवस्थापनसम्बन्धी तालीमसमेत दिने गरिएको छ । ‘घरबाट उत्पादन हुने फोहरलाई कुहिने र नकुहिने गरी छुट्याउन लगाएका छौँ’, अध्यक्ष भण्डारीले भने, ‘कुहिनेलाई घरमै कम्पोस्ट मल बनाउन सिकाउने र नकुहिनेलाई घरमै पुगेर खरीद गरिदिने व्यवस्था मिलाउने तयारीमा छौँ ।’ फोहर मैला प्रशोधन तथा खरीद विक्री केन्द्रले भैरहवा तथा बुटवलमा लगेर विक्री गर्ने गरेको छ । रासस