९ असार, चितवन । नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै गए राति खसेको पहिरोले बन्द भएको सडक खण्ड आज दिनभर पनि खुल्ने सम्भावना कम रहेको छ । नारायणगढ मुग्लिन सडक आयोजनाले सो सडक हुँदै ओहर दोहर गर्ने गाडीहरुलाई वैकल्पिक मार्ग अपनाउन अपिल गरेको छ । सो सडकको चार किलो र कालिखोलामा गएको पहिरोका कारण रातिदेखि नै बाटो अवरुद्ध भएको हो ।
कालिखोलामा पहिरोले प्रहरीको भ्यानसमेत पुरेको छ । भ्यानमा रहेका चारजना प्रहरीमध्ये दुईजनाको शब फेला परेको छ । बाँकी दुईजनाको अवस्था अज्ञात छ । सडकदेखि तल त्रिशुली नदी किनारसम्मै पहिरो खसेको छ ।
सडकमा थुप्रिएको माटो र ढुंगाहरु ट्रिपरमा राखेर अन्यत्र लैजाँदै फाल्नु परेका कारण पहिरो हटाउन समय लाग्ने बताइको छ । चार किलोमा भने पहिरो सफा गर्ने काम सकिन एकाध घण्टा मात्रै लाग्ने बताइको छ ।
नारायणगढ मुग्लिन सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पुर्वी र पश्चिम भागसँग जोड्ने मुख्य मार्ग हो । यो सडक हुँदै दैनिक १० हजार गाडी ओहर दोहर गर्छन् । सो सडकलाई दुई लेनको बनाउने काम सुरु भएको छ । फराकिलो बनाउन ठाउँ ठाउँमा पहाड काटेका कारण वर्षायाममा पहिरो झरेर यात्रुलाई सास्ती दिने गरेको छ ।